पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले चुनाव चिन्ह माछा पाएका छन् ।बुधबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाइ चुनाव चिन्ह प्रदान गर्ने क्रममा द्विवेलीलाइ माछा चुनाव चिन्ह दिएको हो ।
सत्तागठबन्धनमा काँग्रेसले लोसपासंग सहमति गरेपछि पर्सा क्षेत्र नम्बर १ लोसपाको भागमा परेपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा गठबन्धनका उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्ण छन् ।
काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदीलाइ उम्मेदवारी फिर्ता लिन पार्टी शीर्ष नेतृत्वले आइतबार देखि नै निक्कै दबाब दिएको थियो । तर उनले उम्मेदवारी फिर्ता लिने सयम बुधबार दिउँसो १ बजे सम्म पनि उम्मेदवारी फिर्ता लिएनन् । जसका कारण पर्सा क्षेत्र नम्बर १ मा अब स्वतन्त्र उम्मेदवार द्विवेदीसंगै जसपाका उम्मेदवार वन तथा वातावरणमन्त्री प्रदीप यादव र लोसपा उम्मेदवार कर्ण बिच त्रिकोणात्मक प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन वीरगंज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित द्विवेदी २०६४को पहिलो संविधान निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा पराजित भएका उनि २०७४ को स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरको मेयरमा पनि पराजित भएका थिए ।