आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले तयार गरेको घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक हुने भएको छ ।
आइतबार नै सार्वजनिक गर्ने भनिएकोमा आजसम्मको लागि सारिएको थियो । आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने तय भएको थियो । तर आज बिहानै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।
‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ नेपाली कांग्रेसको संकल्पपत्र नेपाली कांग्रेसका सभापति एंव सम्माननीइ प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।
आज स्थगित भएसँगै घोषणापत्र सार्वजनिक अब तिहारपछि मात्रै हुनेछ । उनका अनुसार आज सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जुम मार्फत बालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो ।
तर पदाधिकारीसहित नेताहरु जिल्ला बाहिर भएको र धेरै स्थानमा इन्टरनेटको समस्याका कारण स्थगित गरिएको हो ।साथै तिहारपछि लगत्तै घोषणापत्र सार्वजनिक गरिने उनले जानकारी दिए ।