आसन्न निर्वाचन लक्षित गरी नेकपा एकीकृत समाजवादी सहित गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान शुरु भएको छ ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धन र नेकपा एमाले दुबै पक्षले आजबाट औपचारिक रुपमा प्रचार थालेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बेनिघाट रोराङ गाउँपालिकाबाट प्रचार र घरदैलो सुरु गरेका छन् ।
संघीय उम्मेदवार पाण्डेसँग प्रदेशसभा ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ र प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सरकारका मन्त्री शालिकराम जम्कट्टेल पनि घरदैलोमा निस्किएका छन् । उम्मेदवारहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् ।
आज बेनीघाट रोराङको वडा नं. १० स्थित मौवाखोलाबाट घरदैलो सहित चुनावी सभाको शुरुवात भएको हो । मौवा खोला, हुग्दीखोला, मझिमटार, ज्यामिरेघाट, खटौती हुँदै प्रचारप्रसारको टोली चरौदी आइपुगेको छ ।