धादिङमा जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला निर्वाचन सुरक्षा समितिले आयोजना गरेको कार्यक्रममा धादिङका अधिकांश मतदान स्थललाई अतिसन्देदनशीलको सूचिमा राखेको जानकारी गराइएको थियो।
सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरेको हो । कुल एक सय १४ मतदान स्थल मध्य एक सय चार वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ । सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताएका छन् ।
भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।
धादिङमा दुई लाख ६५ हजार नौं सय ६६ मतदाता रहेका छन् । तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र छ । आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।