जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
जुम्लाको विकासबारे सत्ता गठबन्धनका बैठकहरूमा पनि छलफल हुने गरेको भन्दै उनले आगामी दिनमा आफूले विकासबारे थप जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
जुम्लाको खलंगामा मंगलवार आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए ।
उनले भने, ‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौं, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’
जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए ।