शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मल र बीउ उपलब्ध गराउनेलाई भोट !

मल र बीउ उपलब्ध गराउनेलाई भोट !

नागरिक पाटी

२८, कार्तिक २०७९
  • 2.8K
    SHARES
  • मल र बीउ उपलब्ध गराउनेलाई भोट !

    मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।

    images
    images

    क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन् । बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन् ।

    मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन् । अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरुको भनाइ छ । कोटहीमाई गाउँपालिका–६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनले मर्चवारमा बर्षेनी मल र बीउको लागि सास्ती भोग्दै आएको बताए । उनी अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको बताउँछन्। “स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने अपेक्षा थियो ।” उनले भने, “तर केही भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउँछौँ, मेहनत गरेर रोप्छौँ ।”

    उनले सरकारले गरिब र पीडितको लागि पठाएको राहत नपाएको गुनासो गरे । “सरकारले गरिब विपन्नको राहतको लागि भनेर केही सामान पठाइदिन्छ ।” उनले भने, “ त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो लागि कोही छैन ।” त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ ।

    उनकै भनाइलाई मेल खान्छ मर्चवारी गाउँपालिका–६ बगौलीकी सुनिताकुमारी यादवको पनि । उनले पनि स्थानीय नेताहरु आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो गरे । “गहुँ छर्ने बेला भएको छ, वडाले २ बोरा गहुँको बीउ दिने भनेको थियो अहिले चार–पाँच किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने रु” उनले भने, “हामीमाथि चरम भेदभाव भएको छ ।”

    उनले उम्मेदवार अहिले घरमै आएर विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप लगाए । उनले सबैले मत दिएको कारण सबैलाई एकै नजरले हेर्नुपर्ने धारणा राखे । मर्चवारका उम्मेदवारले यहीकै समस्यालाई ध्यानमा राखेर कृषिलाई ग्राहयता दिनुपर्ने मर्चवारका मतदाताको भनाइ छ । कोटहीमाई गाउँपालिका–५ का कृषक रामअवध पासवानले उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिए। “चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको वर्षभरि खानलाई गरिन्छ ।” उनले भने, “त्यसकारण सरकारले पनि कृषकका समस्या ध्यानमा राखेर नीति नियम बनाउनुपर्छ ।”

    उनले उम्मेदवार अहिले विभिन्न ठूला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्याको दीर्घकालीन रुपमा हल हुने गरी कसैको एजेण्डामा पर्न नसकेको बताए । नेपालकै कम मात्रामा मल आउने गरेको बताउँदै उनले यसको दीर्घकालीन समाधानको लागि नीतिगतरुपमै निर्णय हुनुपर्ने सुझाव दिए। “कृषिको लागि जसले दीर्घकालीन समाधानको उपाय बताउँछ, मेरो भोट उसैलाई हुन्छ ।” उनले भने ।

    उनले अहिले मध्य खेतीपातीकै समयमा सरकारले निर्वाचन गरेर कृषकलाई झन समस्या थपिदिएको गुनासो गरे । उनी सरकार कहिल्यै पनि कृषकको समस्या बुझ्न नसकेको बताउँछन् । मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी र सियारी गाउँपालिकासहित लुम्बिनी सांस्कृतिक नगरपालिका केही वडा गरी ३१ वडा रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख पाँच हजार छ सय ५९ मतदाता रहेका छन् ।

    यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव लगायतका नेता प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १०:०३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology