विजयपुर (गोरखनाथ) । ‘अलौकिक’ निराहारी बाबा भनेर चिनिएका राजेन्द्र रेग्मीको अलौकिक क्षमताको परिक्षणका लागि निराहार साधना सुरु गरिएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ स्थित विजयपुरमा रहेको गोरखनाथ मन्दिरको परिसरमा विगत ७ महिनादेखि निराहार रहेको भनिएका ति बाबाको सिसिक्यामेरा लगायतको निगरानीमा निराहार तथा अलौकिक साधना सुरु गरिएको हो ।
गोरखनाथ कल्याण केन्द्र नेपालको व्यवस्थापनमा सोमबार देखी ५८ वर्षिय रेग्मीले निराहार तथा अलौकिक साधना सुरु गरेको गोरखनाथ कल्याण केन्द्र नेपालका केन्द्रिय अध्यक्ष अर्जुन प्रसाद रेग्मीले बताए । उनले सँस्थाको तर्फबाट ठाउँ उपलब्ध गराएको र व्यवस्थापनमा सहयोग निरन्तर गर्ने बताए ।
सो क्रममा ती निराहार बाबाले आफ्नो शरिर विश्वकै मानव समूदायको लागि अनौठो सावित हुने दाबी समेत गरेका छन् । उनले आफू २०८० भदौ मसान्तसम्म त्रिवि शिक्षण अस्पतालको आर्थिक सह–नियन्त्रक पदमा कार्यरत रहेको जनाएका छन् । उनले आफ्नो शरिर निराहार र अलौकिक भएको विवरणसमेत प्रेस नोट तथा साधना सुरु अघिको भिडियो मार्फत सार्वजनिक गरेका छन् ।
०६५ सालदेखि ढाड दुख्ने समस्या रहेकोले उभिएर काम गर्ने गरेको र कुर्सीमा बसेर काम गर्न नसक्ने, खानेकुरा खाँदा दुख्ने गरेको पनि उनले स्मरण गराएका छन् ।
उनले आफूलाई शरिरमा आएको त्यस्तो बदलावको समयमा नेपाल र भारतका विभिन्न शिवालयमा पुगेर दर्शन गरेको पनि जानकारी दिएका छन् । उनले आफूले ०७६ सालदेखि भोजन बन्द गरेको बताए । उनले भने, ‘मैले २०७६ सालदेखि नै भोजन बन्द गरेको थिएँ, तर ०७९ साल फागुन ३ गते जब म सुतेको थिएँ, त्यतिवेला मेरो वजन १२० केजी थियो, तर मलाई अलौकिक शक्ति प्राप्त भएको सपना भयो, उठ्दा त मेरो वजन नै घटेको अवस्थामा आफूलाई पाएँ, पछि तौल ८० केजी भएछ । ४८ इन्चको कम्मर ३४ इन्चको भयो ।’ उनले आफू घण्टौंसम्म पनि चिसो वा तातो दुवै पानीले समाधि गर्न पनि सक्षम रहेको जानकारी गराएका छन् ।
“म गत फागुनदेखि निराहार छु । निरन्तर ७ महिना भयो मैले पानी पनि खाएको छैन् । निराहार पुष्टिका लागि औपचारिक रुपमा साधना सुरु गरेको छु । यो व्यवस्थापनका लागि गोरखनाथ कल्याण केन्द्र नेपालको समुहलाई धन्यवाद दिन्छु, मिडियाकर्मीमा पनि आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेको छु ।” उनले भने ।
धरानमा जन्मिएका रेग्मीको हाल स्थायी ठेगाना ललितपुर महालक्ष्मी नगरपालिका लुभु हो । यस अघि निराहार अलौकिक राजेन्द्र रेग्मी उजागर समितिले राजेन्द्र रेग्मी ‘अलौकिक’ निराहारी बाबाको अलौकिक क्षमताबारे परीक्षणको माग गर्दै काठमाण्डौँमा पत्रकार सम्मेलन गरेको थियो ।
भिडियो हेर्नुहोस्...