धादिङको धुनिवेशी नगरपालिकामा बसेको नगरपालिका स्तरिय पुर्ण खोप समन्वय समितीको बैठकले विभिन्न निर्णय गरेको छ । नगर प्रमुख तथा उक्त समितीका सँयोजक बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले दादुरा रुवेला खोप अभियान लगायतका प्रस्तावमाथी छलफल गरि निर्णय गरेको हो ।

बैठकले दादुरा रुबेला खोप अभियान यहि फागुन १३ गते देखी १९ गते सम्म सञ्चालन हुने भएकाले ९ महिना देखी ५ वर्ष सम्मका सम्पुर्ण बालबालिकाहरुलाई खोप लगाईने भएकाले उक्त अभियान सञ्चालनका लागि विभिन्न माध्यममार्फत प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षण तथा जन्मेदेखी ५ वर्ष मुनिका बालबालिकाहरुको तथ्याङ्क सँकलन गर्ने, पुर्णखोप शुनिश्चितताको लागि स्वास्थ्य कार्यालय धादिङलाई डाटा भेरिफिकेशन, अनुगमन तथा प्रमाणिकरणका लागि अनुरोध गर्ने लगायत खोप अभियानको क्रममा खोप बाट हुने अवान्छित घटना भईहालेमा पालिकास्तरिय टोली परिचालन गर्ने निर्णय गरेको छ ।

नगरपालिका स्तरिय पुर्ण खोप समन्वय समितीको बैठकमा नगरप्रमुख आचार्य सहित उपप्रमुख सुरज उप्रेती, शिक्षा निर्देशक कर्ण बहादुर भुवाजी, वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्य, स्वास्थ्य कार्यालय धादिङका श्याम प्रसाद पोख्रेल,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।