चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासन मन्त्री छेङ रुइफेङ सहितको चिनियाँ टोलीले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेको छ। मन्त्रालयका सात जना उच्च तहका कर्मचारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसहित चार्टर प्लेनमा आएको चिनियाँ मन्त्रीको टोलीलाई गौतमबुद्ध विमानस्थलमा नेपाल–चीन मैत्री समाज लुम्बिनीसहितका सङ्घसंस्थाले स्वागत गरेका छन्।
सो अवसरमा चिनिया मन्त्री छेङ रुइफेङले लुम्बिनीमा रहेको चिनियाँ मन्दिर र बौद्ध धर्मको प्रचार प्रसार, लुम्बिनीको पर्यटन प्रवर्द्धन र लुम्बिनी क्षेत्रमा रहेका नेपालीसँग भेटघाटका लागि आफू लुम्बिनी भ्रमणमा आएको बताउनुभयो। उहाँले लुम्बिनी घुम्न आउने चिनिया पर्यटकको सङ्ख्या बढाउन आफूले पहल गर्ने समेत बताउनुभयो।
त्यस अवसरमा नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले समाजका पदाधिकारी र पञ्चकन्याले चिनियाँ पाहुनालाई फूलमाला र खादाले स्वागत गरेका थिए।
कार्यक्रममा नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको जानकारी गराउँदै लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि चिनियाँ बौद्ध धर्मावलम्बी र अन्य चिनियाँ नागरिकलाई लुम्बिनी भ्रमणमा पठाउन आग्रह गर्नुभयो।