शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न

रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न

शिवराज आचार्य

१०, कार्तिक २०८१
  • 2.6K
    SHARES
  • रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न

    हेटौँडा । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाँच जिल्लाका १५ जना पत्रकारहरूको सहभागितामा मकवानपुरस्थित श्री मध्य पृतना हेडक्वार्टरमा कार्तिक ४ देखि ८ गतेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।

    images
    images

    कार्यक्रमको शुभारम्भ गर्दै, अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य पत्रकारहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका, र विविध गतिविधिहरूको बारेमा सुसूचित गर्नु रहेको श्री मध्य पृतनापति उपरथी प्रदीप जङ्ग के।सीले बताएका थिए। कार्यक्रममा सेनाले राष्ट्रको सुरक्षादेखि विकास र संरक्षणका क्षेत्रमा गरिरहेका योगदानलाई विशेष रूपमा उजागर गरिएको थियो।

    photo-1-e1729830406170-1024x519.jpg

    अभिमुखीकरण कार्यक्रममा सेनाको शान्ति स्थापनामा योगदान र अन्तर्राष्ट्रिय मिशनहरूमा भूमिकामाथि विशेष छलफल भयो। पत्रकारहरूलाई सेनाको भर्ती प्रक्रिया, महिला सहभागिता, र राष्ट्रिय सुरक्षा नीतिबारे विस्तृत जानकारी दिइयो। सेनामा महिलाको बढ्दो सहभागिता र योगदानका साथै सेनाले महिलालाई अगाडि बढाउन अपनाइरहेका नीतिहरूको पनि विशेष चर्चा गरियो। यससँगै, सेनाले देशभित्रका सुरक्षा चुनौतीहरू समाधान गर्न अपनाएको संरचना र रणनीति प्रस्तुत गरियो।

    पत्रकारहरूले सेनामा भएको डिजिटाइजेशन प्रक्रिया र यसको प्रभावकारिता तथा चुनौतीहरूको जानकारी पाए। डिजिटल प्रणालीमार्फत सेनाको कार्यप्रणालीलाई कसरी प्रभावकारी बनाइएको छ भन्नेबारे स्पष्ट बुझ्न पाए। यसै क्रममा सेनाका अधिकारी र पत्रकारबीच मैत्रीपूर्ण फुटसल पनि आयोजना गरिएको थियो।

    कार्यक्रमका सहभागी पत्रकारहरूलाई सेनाको विशेष परियोजनाको अवलोकन गराइएको थियो। चितवन राष्ट्रिय निकुञ्जको ९राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष० भ्रमणका क्रममा, सेनाले संरक्षण र जैविक विविधता व्यवस्थापनमा गरिरहेको योगदानबारे व्यावहारिक जानकारी प्राप्त गरिएको सहभागी पत्रकार सन्नु रिजालले बताइन्।

    यसका साथै, पत्रकारहरूले एतिहासिक मकवानपुरगढी र तराई मधेस द्रुत मार्ग परियोजनाको अवलोकन पनि गरे। यो परियोजनाले मुलुकको द्रुत मार्ग पूर्वाधार विकासमा सेनाको दक्षता, प्रतिबद्धता, र कार्यक्षमता उजागर गरेको सहभागी पत्रकार नारायण जोशीले बताए । परियोजनाको निर्माणमा सेनाले खेलेको भूमिका र सेनाको दीर्घकालीन रणनीतिक योजना बारे पनि सहभागी पत्रकारहरूले जानकारी पाए।

    सहभागी पत्रकारहरूको तर्फबाट कार्यक्रमको समापनमा धादिङका शिवराज आचार्यले आफ्नो धारणा राख्दै, यो कार्यक्रमले पत्रकार र सेनाबीचको आपसी समझदारीलाई थप बलियो बनाएको बताए। उनले “नेपाली सेना राष्ट्रको महत्वपूर्ण हिस्सा मात्र होइन, नेपाल सरकारभित्रको पनि सरकार हो भन्ने अनुभूति भएको” उल्लेख गरे। साथै, सेनाले गरेको योगदानलाई सही तरिकाले उजागर गर्न सञ्चार माध्यमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।

    कार्यक्रमको समापन गर्दै, श्री मध्य पृतनापति उपरथी प्रदीप जङ्ग के।सी।ले सम्बोधन गर्दै राष्ट्रको सुरक्षादेखि राष्ट्रिय एकतासम्मका विविध क्षेत्रमा सेनाको भूमिकाबारे चर्चा गरे। उनले राष्ट्र निर्माण र विकासमा सेनाले खेलेको भूमिका अझ प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको बताए। साथै, सेनाको जिम्मेवारी र कार्यप्रणालीको सही जानकारी आम जनतासम्म पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने कुरामा जोड दिए।

    यस पाँच दिने अभिमुखीकरण कार्यक्रमले नेपाली सेनाको कार्यप्रणाली, संगठनात्मक संरचना, र भूमिकाबारे सहभागी पत्रकारहरूको बुझाइलाई थप सशक्त बनाएको छ। कार्यक्रमको समापनमा, सेनाको कार्यशैली र योगदानबारे जानकारी प्राप्त गरेपछि पत्रकारहरूले आफ्नो पत्रकारीताको माध्यमबाट सेनाको सही भूमिका उजागर गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

    समग्रमा, कार्यक्रमले सञ्चारकर्मी र सेनाबीचको सहकार्यलाई थप बलियो बनाउँदै भविष्यमा राष्ट्र निर्माण र सुरक्षामा पत्रकारहरूको भूमिका अझ प्रभावकारी बनाउन मार्गप्रशस्त गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - ०८:२९:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology