धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १० मा भएको एकिकृत घुम्ति शिविरमा ४२१ जनाले सेवा लिएका छन् ।
विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा आईतबार छैटौं दिन ९ र १० नम्बर वडालाई लक्षित गरेर भएको शिविरमा उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।
यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३७८ जना र शनिबार वडा नम्बर ३ मा भएको शिविरमा २४७ जना, आइतबार वडा नम्बर ८ मा ३५५ जना सोमबार वडा नम्बर ११ मा ३०७ जनाले सेवा लिएका थिए । यो सँगै छैटौं दिनसम्म घुम्ति शिविर मार्फत १ हजार ९ सय २७ जनाले सेवा लिईसकेका छन् ।
शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । मंगलबारको शिविरमा पुर्वाधार तथा योजना शाखा अन्तर्गत १४ जनाले योजना सम्झौता गरेका छन् । भने २० जनाले परामर्श सेवा लिएका छन्। यस्तै सामी शाखा अन्तर्गत ६० जनालाई गहन अभिमुखिकरण परामर्श प्रदान गरिएको छ ।
यस्तै ११५ जनालाई सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत १०४ जनाले गोबर परिक्षण तथा औषधी सहित परामर्श सेवा लिएका छन् । यस्तै ३ जनाको व्यवसाय दर्ता गरेका छन् भने ८ जनाले व्यवसाय नविकरण गरिएको छ । त्याबाट १५ हजार ९ सय राजश्व संकलन भएको छ ।
यसैगरी ४ जनालाई अपाङ्ग परिचयपत्र र ५९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत १ जनालाई घटनादर्ता, सामाजिक सुरक्षा सँगै परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत ३१ जनाले सेवा लिएको सामी शाखाका लक्ष्मि भूजेलले रेडियो राजमार्गलाई जानकरी दिनु भयो ।