धादिङ । धुनिवेशी नगरपालिकाको खानिखोलामा अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन शिप मुलक तालिम सम्पन्न भएको छ । जेष्ठ २८ गते बाट सुरु भएको तालिम आज शनिबार सम्पन्न भएको हो ।
धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचायको प्रमुख अतिथ्यतामा समापन भएको कार्यक्रममा नगर उपप्रमुख सुरज उप्रेतीको आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले सीपमुलक तालिमका लागि सधैं सहयोग गर्न तत्पर रहेको बताउनु भयो। उहाँले अब तालिम लिएर मात्र होइन आफ्नो सीपलाई कार्यान्वयन गरि आत्मनिर्भर हुन आग्रह गरे । समुहमा रहेर काम गर्नु भयो भने नगरपालिकाले साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो।

अपाङ्गता भएका व्यक्तिहरु घरैमा बसेर सानो पूँजीबाट स्वरोजगार बन्न सक्ने खालका तालिम प्रदान गरेको छ । नगरपालिका भित्रका करिब २० जना अपाङ्गता भएका व्यक्तिहरु समावेश गरी आलुचिप्स र फुरनदाना बनाउने तालिम सञ्चालन गरिएको हो ।
अहिले बजारमा निकै लोकप्रिय रुपमा विक्री वितरण हुने आलु चिप्स र फुरनदाना बनाउने बनाउने ४ दिने प्रयोगत्मक तालिम दिइएको अपाङ्गता पर्नस्थापना समाज धादिङका अध्यक्ष अश्विन लम्सालले बताउनु भयो ।

“अपाङ्गता भएका व्यक्तिहरुको पहिचान,रोकथाम र न्यूनिकरण हाम्रो अभियान” भन्ने नारा रहेको तालिम अपाङ्गता पर्नस्थापना समाज धादिङको आयोजना र धुनिवेशी नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो । तालिममा प्रशिक्षक उर्मिला शाक्यले आलुको चिप्स र फुरनदाना बनाउन आवश्यक सामाग्री सहित पूर्व तयारी र उत्पादनका सार्थै उत्पादित चिप्स र फुरनदाना प्याकेजिङ गर्न तालिमस्थलमै प्रयोगात्मक रुपमा सिकाउनु भएको थियो।