धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नं. ८ चैलिङमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ।
तालिममा बेनिघाट रोराङ वडा नं ६,८ र १० का विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारहरूको आम्दानी वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो । बाख्रापालनको लागि छनौट भएका २४ घरपरिवारका कृषकहरु सहभागी रहेको तालिममा सहजिकरण शिव भण्डारीले गर्नुभएको थियोे । भण्डारीले कृषकहरुलाई बाख्रापालनको महत्त्व, बाख्राका जात र विशेषता, रोग पहिचान र उपचार, साथै खाद्य व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो।
असार १ र २ गते सञ्चालन भएको तालिम चाइल्डफन्ड जापान तथा प्रयास नेपाल धादिङको साझेदारी र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको सहयोगमा सम्पन्न भएको हो। सहभागीहरूको व्यवसायिक योजनाको आधारमा आगामी दिनमा बाख्रापालनमा आवश्यक सहयोग गरिने परियोजना प्रबन्धक सत्यालले जानकारी दिनु भयो।
उक्त तालिममा बेनिघाट रोराङमा कार्यरत पशु स्वास्थ प्राविधिक सीता चौधरीले खोर व्यबस्थापन र खोर निर्माणका लागि आवश्यक मापदण्डका बारेमा सहभागी कृषकहरुलाइ जानकारी गराउनु भएको थियो। यसैगरी तालिमकै क्रममा सहभागी कृषकहरूले व्यवसायिक योजना निर्माण गरेका हुन।
कार्यक्रममा वडाध्यक्ष राजकुमार श्रेष्ठ, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, अनुगमन समिती संयोजक कपिल देव सापकोटा, परियोजना प्रबन्धक सन्तोष सत्याल, लेखा तथा प्रशासन अधिकृत राजन रिजाल, फिल्ड कार्यक्रम अधिकृतहरु, कृषक सहित ३४ जनाको उपस्थिति रहेको थियो।