शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जेनजी सपना ! इतिहासकै युवामय संसद र फितलो प्रस्तुती

जेनजी सपना ! इतिहासकै युवामय संसद र फितलो प्रस्तुती

पुरुषोत्तम पाण्डे

३१, श्रावण २०८३
  • 4.5K
    SHARES
  • जेनजी सपना ! इतिहासकै युवामय संसद र फितलो प्रस्तुती

    ✍️ पुरुषोत्तम पाण्डे
    बुढाका ठाउँमा युवा, कामचोरका ठाउँमा कामयावी, पुरानो ढाँचा र शैलीका ठाउँमा आधुनिक ज्ञान र प्रविधिबारे जानकार, ढिलो र कमजोरको ठाउँमा छिटो र सशक्त नेतृत्व, अपारदर्शिता र साँठगाँठको ठाउँमा पारदर्शिता र योग्यतामा आधारित खुला प्रतिस्पर्धा तथा कुशासनको ठाउँमा सुशासन हुनुपर्छ भन्ने नै जेनजी विद्रोहको मूल मर्म हो। नवयुवाहरूको चाहना र भावना के थियो त भनेर घोत्लिँदा सर्वज्ञात र सर्वस्वीकार्य कुरा यही हो।

    images
    images

    सरकारको अहिलेसम्मको पहल, प्रयत्न र कदम हेर्दा केही नयाँ र राम्रो काम गर्न खोजेको देखिन्छ। नियतमै शङ्का गरिहाल्नुपर्ने अवस्था छैन। तर प्रस्तुती हेर्दा र कार्यान्वयनमा जाँदा नीति र विधिबीच तालमेल नमिलेको देखिन्छ। धेरै काम र कुरामा पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था छ।

    युवा जोश, अपरिपक्व दाउपेच, बदलाभाव, समन्वयकारिताको कमी, आफू नै सर्वज्ञ छु भन्ने अहम् भाव, सायद सल्लाह लिने र दिने पङ्क्तिको सीमित घेरा एवं साँघुरो सोच नै यो सरकार र नेतृत्वको सबैभन्दा दुर्बल पक्ष हो जस्तो लाग्छ।

    • अध्ययन र विषयवस्तुको ज्ञानभन्दा पहिरन र प्रदर्शनतिर ध्यान, कालो चस्मा, मोडलिङ ठाँट, ChatGPT द्वारा तयार पारिएको एकपाने लिखित भाषण पढ्न पनि लगलग काँपेका दृश्य, असाध्यै फितलो एवं कमजोर प्रस्तुतीले संसदीय पद, प्रतिष्ठा र मर्यादाको अवमूल्यन एवं जनमतको हुर्मत लिने काम भइरहेको छ।

    सांसदहरूको फितलो प्रस्तुती

    एआईको सहयोगमा तयार पारिएको एकपाने लिखित भाषण पढ्दा पनि सांसदहरू थरथर काँपेको दृश्यले युवाहरूले भरिएको वर्तमान संसद निकै कमजोर र फितलो देखिएको छ।

    हरेक दिन प्रायः कागज हेरेर बोल्ने युवा सांसदहरूको भाषण उस्तै र एकै शैलीमा किन आयो भनेर बुझ्दा एआई सिर्जित लिखित कपी भएकोले यस्तो एकरूपता आएको हो भन्ने कुरा बाहिरिएको छ। केही समयअघि सचेतकले यस विषयमा आफ्ना सदस्यहरूलाई ध्यानाकर्षण नै गराउनुभएको भन्ने समाचार आएको थियो।

    अध्ययन र विषयवस्तुको ज्ञानभन्दा पहिरन र प्रदर्शनतिर ध्यान, कालो चस्मा, मोडलिङ ठाँट, ChatGPT द्वारा तयार पारिएको एकपाने लिखित भाषण पढ्न पनि लगलग काँपेका दृश्य, असाध्यै फितलो एवं कमजोर प्रस्तुतीले संसदीय पद, प्रतिष्ठा र मर्यादाको अवमूल्यन एवं जनमतको हुर्मत लिने काम भइरहेको छ।

    यस्तै चाल र चरित्रका कारण सभामुख अर्यालज्यूले केही दिनअघि संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै कडा रूपमा प्रस्तुत हुनुपरेको थियो।“अब माननीयहरूको आँखामा नै समस्या हो भने चिकित्सकले दिनुभएको कागजात पेश गर्नुपर्छ, नत्र कालो चस्मा लगाउन मिल्दैन। मैले पनि रुल्स फलो गर्नैपर्छ। सभालाई मर्यादित र अनुशासित बनाऔँ, बैठकमा आउँदा सबैले कोट र लोगो लगाएर आउँ। कालो चस्मा फुकालेर, कोट लगाएर आउनुपर्छ। नत्र मैले निकाल्नुपर्ने हुन्छ। प्रधानमन्त्री र मन्त्रीलाई ड्रेसमा कोट लगाएर, चस्मा फुकालेर ल्याउने जिम्मा सत्तारुढ दलका साथीहरूको हो।”

    यसरी सभामुखले गम्भीरतापूर्वक मार्गदर्शन गर्नुपर्ने अवस्था समेत आएको छ।

    हरेक बादलमा चाँदीको घेरा हुन्छ

    अंग्रेजी साहित्यमा एउटा भनाइ छ—“Every cloud has a silver lining.” अर्थात्, हरेक बादलमा चाँदीको घेरा हुन्छ।हरेक व्यक्तिको आ–आफ्नै खुबी र सामर्थ्य हुन्छ। यो दुनियाँमा काम नलाग्ने चिज र अयोग्य मान्छे कोही पनि हुँदैनन्। तर उसको योग्यता, विज्ञता र क्षमताभन्दा बाहिरको जिम्मेवारी दिइयो भने त्योभन्दा झुर केही हुँदैन।

    उसको ज्ञान, सीप र क्षमताले धान्न सक्ने जिम्मेवारी दिइएको भए यस्ता प्रश्न उठ्ने नै थिएनन्। रहर गर्नेले पनि आफ्नो औकातअनुसारको पद र पेशा मात्र ग्रहण गरेको भए अहिले अक्षमताको आरोप खेप्नुपर्ने अवस्था आउने थिएन।

    अहिले सांसद बनेका धेरै युवायुवतीहरूले आफ्नो हैसियतभन्दा माथिको भारी बोक्न खोज्दा कमजोरी छताछुल्ल भएको छ। सामर्थ्य र ज्ञानभन्दा बाहिर भूमिका विस्तार गर्न खोज्दा यस्तो नमिठो आलोचना र प्रश्न सामना गर्नुपरेको छ।सम्बन्धित दललाई नै अहिले आफ्ना सांसदहरू भारी भएको अवस्था छ। कति पटक र कहाँ–कहाँ मात्रै ढाकछोप गर्नु? पटकपटक चिप्लिएका बोलीले निकै अप्ठ्यारो परेको अवस्था छ।

    आफ्नै क्षेत्रमा अब्बल, राजनीतिमा किन कमजोर ?

    निर्वाचनपूर्व, बरु यो संसदीय जिम्मेवारीमा आउनुअघिसम्म आज आलोचित हुनुभएका कतिपय माननीयहरू प्रशंसनीय थिए।कोही सामाजिक अभियन्ता थिए। कोही व्यापारी थिए। कोही पत्रकार थिए। कोही डाक्टर, कोही कलाकार, कोही मोडल र कोही समाजसेवी थिए। ती सबै आ–आफ्नो क्षेत्रमा अब्बल र प्रशंसनीय नै थिए।

    जब आफ्नो ज्ञान, सीप, योगदान र अनुभव नै नभएको राजनीतिमा आए, तब कमजोर र आलोचित भए।एउटा क्षेत्रको मान्छे अर्को क्षेत्रमा फिट नहुने नै त होइन, तर सबैले त्योअनुकूलन क्षमता राख्न सक्छन् भन्ने हुँदैन। त्यसैले कतिपय व्यक्ति असफल हुन पुग्छन्। नयाँ ठाउँ र नयाँ जिम्मेवारीमा कमजोर देखिन्छन्। अहिले भएको त्यही हो।

     

    • यतिबेला २०७९ को संसदमा निर्वाचित जोशिला र तर्कशील सांसदहरूको खोजी र चर्चा सुरु भएको छ। सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, सोभिता गौतम, तोशिमा कार्कीजस्ता युवा सांसदहरू त्यो बेला पूरा अध्ययन, चिन्तन गरेर दमदार तर्कका साथ बोल्थे । रास्वपाका ४–५ जना सांसदले सिंगो संसद थर्काउँथे। विपक्षी दल कांग्रेस, एमालेका नेताहरू पनि उहाँहरूको तयारी र तार्किक प्रस्तुतिप्रति दङ्ग थिए।

     

    संसदमा बोल्न पनि अध्ययन चाहिन्छ

    संसदमा के बोल्ने? कसरी प्रभावकारी बोल्ने? आफ्नो सम्बोधनलाई कसरी तार्किक बनाउने भन्ने कुराको हेक्का राख्न कि त अध्ययन हुनुपर्छ कि त अनुभव।अनुभव त नयाँलाई भएन। तर राजनीतिसम्बन्धी सामान्य ज्ञान पनि छैन भने जरुर पढ्नुपर्‍यो। अध्ययन, चिन्तन गरेर आफूलाई जानकार बनाउनुपर्‍यो।

    सांसद हुनु भनेको संसदमा उपस्थित भएर आफ्नो पालो आएपछि कागज हेरेर भाषण पढ्नु मात्र होइन। सांसद हुनु भनेको जनताको प्रतिनिधि भएर राज्य सञ्चालनका विषयमा विचार राख्नु, सरकारलाई प्रश्न गर्नु, नीतिमाथि बहस गर्नु र जनताको आवाजलाई तथ्य तथा तर्कसहित प्रस्तुत गर्नु पनि हो।

    यीनै कमजोरी देखेर होला, सामाजिक सञ्जालमार्फत तिखो घोचपेच पनि भएको छ।“चार लाइन लेख्न समेत आफ्नै ज्ञान, बुद्धि र सीप नहुनेले सांसदको टिकट किन लिनु? नजान्नेले बरु चुप लाग्नु, सिक्नु, बुझ्नु र एक–दुई सालपछि अलि जान्ने भएपछि मात्र बोल्नु नि! अन्यथा यो बिजोग देखाएर सकी–नसकी किन बोल्नु?”यसरी कसै–कसैले व्यङ्ग्य हानेको पनि देखिन्छ।

    खोइ त ती जोशिला र तार्किक सांसदहरू?

    यतिबेला २०७९ को संसदमा निर्वाचित जोशिला र तर्कशील सांसदहरूको खोजी र चर्चा सुरु भएको छ।

    सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, सोभिता गौतम, तोशिमा कार्कीजस्ता युवा सांसदहरू त्यो बेला पूरा अध्ययन, चिन्तन गरेर दमदार तर्कका साथ बोल्थे।रास्वपाका ४–५ जना सांसदले सिंगो संसद थर्काउँथे। विपक्षी दल कांग्रेस, एमालेका नेताहरू पनि उहाँहरूको तयारी र तार्किक प्रस्तुतिप्रति दङ्ग थिए।

    यो पालि खोइ किन हो, मनिष झाहरू तुलनात्मक रूपमा मौन छन्। सोभिता मन्त्री भएकोले बोली बन्धनमा परिन्। अमरेश सिंहले केही बोल्ने गर्छन्। अध्ययन र तर्ककला भएका सुशील खड्काजस्ता रास्वपाकै केही सांसदहरू पनि ओझेलमा छन्।

    पाकाहरूमा प्रदीप गिरी अनि युवाहरूमा सुमना श्रेष्ठजस्ता अध्ययन र तर्कसहित प्रस्तुत हुने जोशिला सांसद यो सदनले खोजिरहेको छ।

    जेनजीले खोजेको परिवर्तन बुढाका ठाउँमा युवा ल्याउनु मात्र होइन। युवा भएर पनि अध्ययन, ज्ञान, क्षमता र तर्कमा कमजोर हुनु जेनजीको सपना होइन।

    उमेरले युवा भएर मात्र पुग्दैन, सोच पनि युवा हुनुपर्छ। ज्ञानमा युवा, प्रविधिमा युवा, कार्यशैलीमा युवा, विचारमा युवा र परिणाम दिने क्षमतामा युवा हुनुपर्छ।

    जेनजीको सपना युवामय संसद मात्र होइन, सक्षम, अध्ययनशील, तार्किक, अनुशासित, पारदर्शी र परिणाममुखी संसद हो।

    इतिहासकै युवामय संसद बनेको छ। अब इतिहासकै सक्षम र प्रभावशाली संसद बनाउने जिम्मेवारी पनि यही पुस्ताको हो।नत्र पुस्ता त फेरिन्छ, तर प्रवृत्ति फेरिँदैन।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८३ आइतवार - १५:२६:२४ बजे

    पुरुषोत्तम पाण्डे

    लेखक पाण्डे समसामयिक विषयमा कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology