आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धेरै पढेपछि जागिर भन्नेलाई गतिलो सन्देश, मास्टर्स गरेर व्यावसायिक भैँसीपालनमा सफलता

धेरै पढेपछि जागिर भन्नेलाई गतिलो सन्देश, मास्टर्स गरेर व्यावसायिक भैँसीपालनमा सफलता

नागरिक पाटी

४, भाद्र २०७६
  • 5.5K
    SHARES
  • तनहुँ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई तनहुँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटीं)मा स्नाकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन् । आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बनेका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक भएरसमेत काम गर्दै आएका थिए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाको प्रबन्धक पदको जागिर छाडेर पन्थ व्यावसायिक भैँसीपालनमा लागेका हुन । कृषक पन्थ हाल एनप्याव्सन तनहुँको सचिवसमेत रहेका । उनले भने, ‘सानै उमेरदेखि पशुपालनतर्फ रुचि भए पनि पढ्ने बेला भएकाले पढ्दै गएँ र केही समय जागिर पनि खाएँ । तर, पढ्दैमा जागिर खानुपर्छ भन्ने होइन ।’ पढेर केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफू यस पेशातर्फ लागेको उनको भनाइ छ । उनले गुँदी गाउँबाट दमौली शहर झरेको झण्डै १२ वर्षपछि पुनः गाउँ फर्किएकाले फार्मको नाम नै गाउँ फर्क कृषि उद्यम प्रालिमा दर्ता गरी व्यवसाय गराएका छन । उक्त फार्ममा स्थानीय बाबुराम ढकाल र पन्थ दुई जना मिलेर व्यवसाय सञ्चालन गरेका हुन । वि।सं २०७५ मङ्सिरमा भारतबाट रु एक लाख ५० हजार मूल्यका १० दुहुना मुर्रा जातका भैँसी ल्याएर पाल्न थालेको उनले जानकारी दिए । अहिले दैनिक १०० लिटर दूध उत्पादन भएको र प्रतिलिटर रु १०० मा बिक्री गर्ने गरेको पन्थले बताए । उत्पादित दूध दमौली बजार क्षेत्रमा सजिलै खपत हुँदै आएको र माग बढिरहेकाले छिट्टै भैँसीको सङ्ख्या थप्ने योजना उनको छ । उनले भने, ‘पानी नमिसाएको शुद्ध दूध पाएपछि केही उपभोक्ता फार्ममै दूध लिन आउने गरेका छन् ।’ उक्त फार्म सदरमुकाम दमौलीबाट करीब आठ किलोमिटर उत्तरमा पर्छ । शुरुमा अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएर बोयर बाख्रा स्रोत केन्द्र बनाउने उद्देश्य रहेको उनले बताए । उनले भने, ‘बाख्राको खोरको पूर्वाधार बनिनसकेका कारण भैँसीपालन व्यवसायलाई पनि सँगसँगै लैजान लागिएको हो ।’ करीब १५० क्षमताको बाख्रा खोर निर्माण र फार्मसम्म पुग्ने सडकदेखि फार्मभित्रका शाखा सडक निर्माणकार्य भइरहेको उनले जानकारी दिए । व्यावसायिक पशुपालनका लागि करीब ५०० रोपनी जग्गा रहेको छ । फार्म सञ्चालन शुरु गरेदेखि करीब रु ५० लाख लगानी भइसकेको कृषक पन्थ बताउँछन । उत्पादनमूलक बाँझो जग्गा उजाड हुँदै गएको, युवाहरु विदेशिएको अवस्थामा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै केही गरौँ भन्ने सोचका साथ आफू पशुपालन व्यवसायमा लागेको उनले बताए । हाल उक्त फार्ममा सात कर्मचारी कार्यरत छन् । गाउँका करीब २५ जनालाई प्रत्यक्ष रोजगारी दिने उनको योजना छ । आवश्यकताअनुसार केही कर्मचारीलाई ज्यालादारी तरिकाले राख्न सकिने उनले बताए । नेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने भनिए पनि दमौलीस्थित वाणिज्य बैंकमा आवश्यक कागजपत्र पेश गरेको तीन महीना बितिसक्दा पनि खासै चासो नदेखाएको उनले गुनासो गरेका छन । वडामा उद्योग फार्म सञ्चालन हुँदा गाउँमा रहेका बेरोजगारीलाई रोजगारीको सिर्जना हुनुका साथै आर्थिक उन्नन्तिमा टेवा पुग्ने विश्वास लिइएको व्यास–१३ का वडाध्यक्ष लेखबहादुर रानाले बताएका छन् । ‘फार्मस्टे’को व्यवस्था फार्ममा आउने व्यक्ति तथा समूहका लागि घरबासजस्तै ‘फार्मस्टे’को व्यवस्था गरिने भएको छ । फार्ममा आएका मानिसका लागि बस्ने र खाने व्यवस्था मिलाइने गरी काम अघि बढाइएको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले पारिवारिक वातावरणमा फार्मस्टेको व्यवस्था गर्न लागिएको अर्का सञ्चालक ढकालले बताए । उक्त फार्मलाई कृषि, शिक्षा र कृषि पर्यटन क्षेत्र बनाउने लक्ष्य राखिएको छ । सिटीभिटीबाट मान्यता लिई कृषि शिक्षा र कृषिको प्रयोगशालास्थलका रुपमा विकास गर्ने योजनासहित फार्म सञ्चालन गरिएको सञ्चालक ढकालले बताए । रैथाने गाई सङ्कलन तथा संरक्षण उक्त फार्ममा स्थानीय जातका गाई सङ्कलन गरी संरक्षण गरिने भएको छ । गाईको गहुँत सङ्कलन गरी प्रशोधिनमार्फत औषधिका रुपमा विकास गर्ने, पक्षीको रुपमा स्थानीय जातका कुखुरापालन गर्ने, फलफूल खेतीमा कागती, तरकारी खेतीमा मौसमी तथा बेमौसमी अग्र्यानिक तरकारी उत्पादन गर्ने, मौरी र माछालगायतका व्यावसायिकपालन गर्ने लक्ष्य रहेको सञ्चालकद्वयले जानकारी दिएका छन् । रासस
    २०७६ भदौ ४ मा प्रकाशित
     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १९:२९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology