काठमाण्डौँ । फिल्म ‘रातो टिका निधारमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। अशोक शर्माको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार इन्टरनेटमार्फत् सार्वजनिक गरिएको हो।
सामाजिक कथावस्तुमाथि तयार फिल्मको ट्रेलरमा वैदेशिक रोजगारीसँग सम्बद्ध विषय र त्यसले निम्त्याउने परिस्थितिजन्य दृश्य समावेश गरिएको छ। ट्रेलरमा देशको व्यापार घाटा, खाडी मुलुकका लागि व्यवस्था गरेको फ्रि–भिसा, फ्रि–टिकट, रोजगारीका लागि विदेश नै किनरु भन्ने प्रसंगलाई मुख्य प्राथमिकताका साथ देखाइएको छ।
https://youtu.be/vcKfOzkPJfU
ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह टिपिकल ग्रामीण परिवेससँग सुहाउदो गृहिणीका रुपमा प्रस्तुत छिन्। निर्देशक शर्माका छोरा अंकित शर्मा र साम्राज्ञीको मुख्य अभिनय रहेको फिल्ममा निता ढुंगाना, बुद्धिराम तामाङ, रविन्द्रकुमार झा, शिवहरि पौडेल, अरुणा कार्की लगायतको अभिनय छ।
पुरुषोत्तम प्रधानको छायांकन, मित्रदेव गुरुङको सम्पादन रहेको फिल्म आउँदो असोज १० गतेबाट प्रदर्शनमा आउने छ।
२०७६ भदौ १७ गते प्रकाशित