धादिङ । धादिङबेसी स्थित खुल्ला मञ्च टुुडिखेलमा धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं धादिङ महोत्सव सुरुभएको छ ।
पुर्व प्रधान मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विशेष सामारोहका साथ उद्घाटन गरे सँगै शुक्रबारबाट सातौं धादिङ महोत्सव सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चिनबाट काठमाडौं, धादिङ, पोखरा हुँदै लुम्बिनी सम्म रेल आफ्नो सपना रहेको बताएका थिए ।
जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी फागुन १३ गतेसम्म महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।
बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल छन् । महोत्सव उद्घाटन सत्रमा धादिङवेशी पुछारबजारबाट विभिन्न जाती र समुदायको भेषभुषा, संस्कृतिजन्य नृत्य, झाँकी र सोभायात्रा सहित मेला स्थल प्रवेश गरिएको थियो ।
२०७६ फागुन ०२ गते प्रकाशित