गजल
घरि तिमीलाई रुवाउँछ घरि मलाई अनगिन्ती चोटहरू दिन्छ।
यो समय यस्तै हो न त तिमीसँगै हिँड्छ न त मलाई पर्खिन्छ।
निस्वार्थ प्रेम गर्छु भनेको हो कसैलाई एकोहोरो मैले पनि,
जुन प्रश्नको उत्तर छैन सधैं त्यही प्रश्न किन मलाई सोधिन्छ ?
कसैलाई खुशी पार्नकै लागि आफ्ना इच्छाहरू मारिरहेँ मैले,
सोचिएन कहिल्यै कसैलाई खुशी दिँदा आफ्नो मन रित्तिन्छ।
मनभरि पीडा बोकेर कोही मुस्कुराए झैँ गर्यो फेरि मेरो सामु,
सायद उसलाई थाहा भएन लुकाउन खोजे पनि पीडा देखिन्छ।
आज उसको चित्त बुझाउँछु भन्यो भोलि अर्कैको चित्त बुझायो,
जिन्दगी नि पानीको फोका न हो थाहा छैन कुन दिन सकिन्छ।
→ अदिती अर्याल ज्ञवाली (लुरी)
हाल : काठमाण्डौँ