काठमाडौं । मन्त्रीपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै गृह मन्त्रालयको निर्देशनपछि आज असार १ देखि सवारी साधनका लागि जोर विजोरको नियम अनिवार्य लागू हुने भएको छ । दुई पाङ्ग्रे सवारी साधनमा २ जना हिँड्न पाउने भनिएकोलाई समेत प्रष्ट्याउँदै संक्रमण नियन्त्रणको उद्धेश्यले एक जना मात्रै हिँड्न पाउने नियमलाई प्रष्ट्याएको छ ।
मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसँगै आज विहानैदेखि ट्राफिक प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । ट्राफिकले सवारी नियम उल्लंघन गरेकोमा चीट काट्दै मान्छे ओराल्न लागेको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई प्रष्ट पार्दै मातहत निकायलाई निर्देशन भएको पुष्टि गर्नुभयो । जोर बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्।