काठमाण्डौँ । युरोपियन युनियनले २१ खर्ब डलरको बजेट पारित गरेको छ । यस बजेटसँगै कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान प्याकेज पनि पारित भएको छ । यूरोपेली परिषदले तयार पारेको ७ खर्ब ५० अर्ब युरोको एउटा आर्थिक सहायता प्याकेजलाई पनि बैठकले अनुमोदन गरेको छ । खासगरी कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुकलाई उक्त रकम अनुदान र ऋणका रुपमा उपलब्ध हुनेछ ।
यूरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुख सहभागी ब्रसेल्स शिखर बैठकमा कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक पक्षमाथि व्यापक छलफल भएको थियो । यूरोपेली युनियन आयोगकी अध्यक्ष उर्सुला भोन डर लियेनले युरोपेली मुलुकको आर्थिक पुनरुत्थानका लागि निकै सकारात्मक प्रस्ताव पारित भएको बताइन् ।
जर्मन चान्सलर एन्जेला मर्केलले शिखर बैठकमा आगामी सात वर्षका लागि यूरोपेली युनियनको आर्थिक आधार तयार पार्न सफलता हासिल भएको बताइन् ।