एजेन्सी । रुसले कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याच तयार पारेको छ । रुसी स्वास्थ्य मन्त्रालयले इन्टरफेस न्युज एजेन्सीलाई दिएको जानकारीअनुसार रुसमा अब भ्याक्सिन उत्पादन सुरु भएको हो ।
अब रुसमा यो भ्याक्सिन प्रत्येक महिना कम्तिमा पनि ५० लाख डोज बन्ने बताइएको छ । रुसले यो भ्याक्सिन यही महिनाको अन्त्यसम्म बजारमा पठाउने तयारी गरेको पनि बताएको छ ।
भ्याक्सिनको तेस्रो फेजको परीक्षणका लागि पनि अब सरकारले मन्जुरी दिएको छ । यो तेस्रो फेजमा यो भ्याक्सिन हजारौँ मानिसमा परीक्षण हुनेछ । रुसले कोरोनाभाइरस भ्याक्सिनको नाम स्पुतनिक ५ राखेको । स्पुतनिक अन्तरिक्षमा जाने विश्वकै पहिलो उपग्रह थियो जसलाई रुसले नै बनाएको थियो ।
विश्वभर यो भ्याक्सिनको आलोचना भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ यो भ्याक्सिन सुरक्षित भएको र आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको बताएका छन् । उनले छोरीले भ्याक्सिन लगाएपछि राम्रो महसुस गरेको पनि दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।