अनिल रुपाखेती
विकास मानव भित्रको रचनात्मक भावना, क्रियाशीलता र चेतनशीलताको उपज हो । असल जिवन प्रतिको रुपान्तरण विकास हो । विकास मानव चाहना पुर्तिको दिगो प्रक्रिया हो । समाजमा आवाज बिहिनहरुको आवाज बढाउन, आर्थिक-सामाजिक सञ्जालिकरणमा पछि पारेकाहरुको लागि उपयुक्त पहुंच बिस्तार गर्न चालिएको कदम विकास हो । मानविय जिवन चक्रमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया विकास हो । जनताले जनताद्वारा जनताका लागि गरिने प्रयास विकास हो ।
ग्रामिण विकास भनेको ग्रामिण जनताको जिवनस्तर सुधार्नु हो । ग्रामिण क्षेत्रमा हुने आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सम्पन्नताको एकिकृत स्वरुप ग्रामिण विकास हो । ग्रामिण क्षेत्रको सर्वोपरि विकास ग्रामिण विकास हो । ग्रामिण जनताको जिवनस्तरमा सुधार, कृषिमा आधुनिकिकरण, ग्रामिण एवम घरेलु उधोगको विकास, कला र साहित्यको विकास, सामाजिक आर्थिक संरचनाहरुको सुधार, सामुदायिक सेवा सुविधाको बढोत्तरी र स्थानिय जनशक्तिको उच्चतम प्रयोग जस्ता पक्षहरुको विकास नै ग्रामिण बिकास हो ।
ग्रामिण विकास गरिबिको दुष्चक्रलाई सिधा प्रहार गर्ने एउटा रणनिति, एजेन्डा, कार्यक्रम र अवधारणा हो । ग्रामिण विकासको मुख्य ध्येय ग्रामिण क्षेत्रलाई कसरि मानव वस्तिको लागि उपायुक्त बनाउनु भन्नु नै हो । विशुद्धरुपमा भन्नुपर्दा ग्रामिण विकासले कृषि र यस संग सरोकार राख्ने क्रियाकलाप तथा सामाजिक सुविधा, मानव संसाधनको विकासजस्ता ग्रामिण समुदायको सरोकारका बिषयलाई समेट्छ। कृषि क्षेत्रको विकासले परम्परागत एवं निर्वाहमुखी कृषि प्रणालीको रुपान्तरणमा जोड दिईएको हुन्छ ।
यसले कृषकका लागि आवश्यक पर्ने ज्ञान, सीप र क्षमताको विस्तारमा लगानी, सिंचाई, उन्नत विउविजन र रासायनिक मलको उचित प्रवन्धमा जोड दिन्छ । त्यसैगरि आधुनिकिकरणको लागि आवश्यक पर्ने देश काल परिस्थिति सुहाउंदो प्रविधिको विकास र विस्तारको साथै सहुलियत पुर्ण ऋणको उपलव्धतालाई जोड दिईएको हुन्छ । यस बाहेक जो किसानको हात माटो संग जोडिएको हुन्छ, तिनिहरुको लागि कृषिउपज बिक्रि गर्ने राम्रो बजार र लगानि अनुसारको प्रतिफलको आशा कृषि विकासले गरेको हुन्छ।
यस बाहेक साना तथा घरेलु उद्योगको बिकास, सामाजिक विकास, पुर्वाधारको विकास जस्ता पक्षले ग्रामिण क्षेत्र र त्यहाँका बासिन्दाको जिवनस्तर उठाउन ठुलो भूमिका निर्वाह गरेको छ । समग्रमा ग्रामिण विकासको मुख्य आशयलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
ग्रामिण क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनु,
सामाजिक, आर्थिक समानता ल्याउनु,
आर्थिक विकासमा सन्तुलन ल्याउनु,
विकास प्रक्रियामा व्यापक जनसहभागिता बढाउनु,
पर्यावरणिय सुधार गर्दै आर्थिक विकास गर्नु
ग्रामिण जनजिवनमा सुधार ल्याउनु,
ग्रामिण श्रमशक्तिलाई विकासको मुलधारमा ल्याउनु

कोरोना कहरको बिचमा सहरी भेगबाट धेरै मानिसहरु गाउँ फर्किएका छन् । आजपनि ६५% भन्दा बढि मानिस ग्रामिण क्षेत्रमा बसोबास गर्छन । अव विस्तारै उनिहरुको जिवनस्तरको सुधारको लागि पहिला ग्रामिण विकासको अवधारणालाई मुर्त रुप दिनुपर्छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०१६ आधार मान्दा ३०% सहरी जनसंख्या अधिक सम्पति हुने समुहमा पर्छन भने ३१ % ग्रामिण जनसंख्या सबैभन्दा कम सम्पति भएको समुहमा पर्छन । तसर्थ पनि आर्थिक असमानता कम गर्ने ग्रामिण क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ ।
सहरबाट गाउँ फर्केका नागरिकहरु र बैदेशिक रोजगारबाट घर फर्केकाहरु सगं भएका ज्ञान, सिप, क्षमता र पुँजिलाई योजनाबद्ध ढंगबाट कृषि क्षेत्रको विकासमा योजना तथा कार्यक्रमहरु ल्याउनु पर्दछ । परम्परागत तथा निर्वाहमुखी खेति प्रणालिलाई आधुनिक व्यवसायिक प्रणालिमा रुपान्तरण गर्दै कृषि क्षेत्रको उत्पादन, व्यबस्थापन तथा बजारीकरणमा विशेष ध्यान दिनु पर्दछ । जसका कारण गाउँबाट कामको खोजिमा सहर र विदेश फर्कन पर्दैन भने बर्षेनि बढ्दो बैदेशिक व्यापार घाटामा समेत कमि आउँछ ।
आज गाउँहरु न्युनतम आधारभुत आवश्यकताको अभावमा कारण रित्तिन थालेका छन् । सहर केन्द्रित जनसंख्या बढेको कारण न्युन तथा मध्यम आय भएकाहरुको आम्दानिको सम्पुर्ण अंश उपभोगमा सकिने अवस्था आउँछ । तसर्थ स्थानिय सरकारले स्थानिय स्रोत र साधनको परिचालनमा जोड दिनु पर्दछ । यति मात्रै होईन ग्रामिण क्षेत्रका जनताहरुले आफ्नो ठाउँलाई नरपालकै विकसित ठाउँ बनाउन राष्ट्रिय अभियान चलाउन आवश्यक छ । गाउँ गाउँका हरेक टोलका यूवाहरु उत्पादनमुलक व्यवसायमा संलग्न भई विकास निर्माणमा अभियान अगाडि बढ्दा नेपालका हरेक गाउँहरु आर्थिक रुपमा सम्पन्न हुँदै जानेछन् । नेपालको विभिन्न क्षेत्रको विकासको लागि यूवा लक्षित स्वरोजगारका कार्यक्रमहरु ल्याउनु आवश्यक छ । ग्रामिण क्षेत्रमा खेर गईरहेका स्थानिय स्रोत र साधनको समुचित प्रयोग बाट नै समग्र ग्रामिण विकास संभव छ । ग्रामिण क्षेत्रको समग्र विकास र दिगोपनाको सुनिश्चितताको लागि निम्न पक्षहरुको सबल उपस्थितिको आवश्यकता पर्दछ :
स्थिर राजनीतिक अवस्था
तटस्थ, प्रतिबद्ध र प्रभावकारी प्रशासनयन्त्र
व्यवहारिक र कार्यन्वयनमुलक योजना
व्यापक जनसहभागिता
स्रोत र साधनको समुचित उपयोग
स्थानिय श्रमशक्तिको प्रयोग
भ्रष्टाचारको न्युनिकरण
ज्ञान, सिप र क्षमता अभिवृद्धी तालिमको व्यवस्था
कोरोना संकटलाई ग्रामिण क्षेत्रको दिगो विकासमा उपयोग गर्न सकिने थुप्रै संभावनाहरु छन् । यतिबेला हरेक स्थानिय तहहरुले आफ्नो क्षेत्रका जनताहरुलाई विकासका सपना देख्न अभिप्रेरित गर्नु पर्दछ । यूवाहरुलाई स्थानिय तहका विभिन्न उत्पादनमुलक क्रियाकलापमा जोड्न अधिकतम सुविधाहरु प्रदान गर्ने तर्फ सोच्नु पर्दछ । स्थानिय सरकारले यूवा उधमको लागि न्युनतम व्याजमा ऋण उपलव्ध , उत्पादनमुलक क्षेत्रमा अनुदान, उत्पादित वस्तुको बजारीकरणको ध्यान दिनु जरुरी छ । गाउँ लक्षित विशेष कार्यक्रम मार्फत यूवाहरुको परिचालन गरि यो अवस्थाको सदुपयोग गर्न सके छोटो समयमानै सोचे अनुरुपको विकास गर्न सकिन्छ ।
(लेखक रुपाखेती मच्छिन्द्र बहुमुखी क्याम्पस, धुनिवेशी न. पा.७ खानिखोलामा ग्रामिण विकास बिषय शिक्षण गर्नुहुन्छ ।)