आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना कहर र ग्रामिण विकास

कोरोना कहर र ग्रामिण विकास

अनिल रुपाखेती

४, भाद्र २०७७
  • 10.8K
    SHARES
  • कोरोना कहर र ग्रामिण विकास

    अनिल रुपाखेती

    images

      विकास मानव भित्रको रचनात्मक भावना, क्रियाशीलता र चेतनशीलताको उपज हो । असल जिवन प्रतिको रुपान्तरण विकास हो । विकास मानव चाहना पुर्तिको दिगो प्रक्रिया हो । समाजमा आवाज बिहिनहरुको आवाज बढाउन, आर्थिक-सामाजिक सञ्जालिकरणमा पछि पारेकाहरुको लागि उपयुक्त पहुंच बिस्तार गर्न चालिएको कदम विकास हो । मानविय जिवन चक्रमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया विकास हो । जनताले जनताद्वारा जनताका लागि गरिने प्रयास विकास हो ।

      ग्रामिण विकास भनेको ग्रामिण जनताको जिवनस्तर सुधार्नु हो । ग्रामिण क्षेत्रमा हुने आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सम्पन्नताको एकिकृत स्वरुप ग्रामिण विकास हो । ग्रामिण क्षेत्रको सर्वोपरि विकास ग्रामिण विकास हो । ग्रामिण जनताको जिवनस्तरमा सुधार, कृषिमा आधुनिकिकरण, ग्रामिण एवम घरेलु उधोगको विकास, कला र साहित्यको विकास, सामाजिक आर्थिक संरचनाहरुको सुधार, सामुदायिक सेवा सुविधाको बढोत्तरी र स्थानिय जनशक्तिको उच्चतम प्रयोग जस्ता पक्षहरुको विकास नै ग्रामिण बिकास हो ।

      ग्रामिण विकास गरिबिको दुष्चक्रलाई सिधा प्रहार गर्ने एउटा रणनिति, एजेन्डा, कार्यक्रम र अवधारणा हो । ग्रामिण विकासको मुख्य ध्येय ग्रामिण क्षेत्रलाई कसरि मानव वस्तिको लागि उपायुक्त बनाउनु भन्नु नै हो । विशुद्धरुपमा भन्नुपर्दा ग्रामिण विकासले कृषि र यस संग सरोकार राख्ने क्रियाकलाप तथा सामाजिक सुविधा, मानव संसाधनको विकासजस्ता ग्रामिण समुदायको सरोकारका बिषयलाई समेट्छ। कृषि क्षेत्रको विकासले परम्परागत एवं निर्वाहमुखी कृषि प्रणालीको रुपान्तरणमा जोड दिईएको हुन्छ ।

      यसले कृषकका लागि आवश्यक पर्ने ज्ञान, सीप र क्षमताको विस्तारमा लगानी, सिंचाई, उन्नत विउविजन र रासायनिक मलको उचित प्रवन्धमा जोड दिन्छ । त्यसैगरि आधुनिकिकरणको लागि आवश्यक पर्ने देश काल परिस्थिति सुहाउंदो प्रविधिको विकास र विस्तारको साथै सहुलियत पुर्ण ऋणको उपलव्धतालाई जोड दिईएको हुन्छ । यस बाहेक जो किसानको हात माटो संग जोडिएको हुन्छ, तिनिहरुको लागि कृषिउपज बिक्रि गर्ने राम्रो बजार र लगानि अनुसारको प्रतिफलको आशा कृषि विकासले गरेको हुन्छ।

      यस बाहेक साना तथा घरेलु उद्योगको बिकास, सामाजिक विकास, पुर्वाधारको विकास जस्ता पक्षले ग्रामिण क्षेत्र र त्यहाँका बासिन्दाको जिवनस्तर उठाउन ठुलो भूमिका निर्वाह गरेको छ । समग्रमा ग्रामिण विकासको मुख्य आशयलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

     ग्रामिण क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनु,
     सामाजिक, आर्थिक समानता ल्याउनु,
     आर्थिक विकासमा सन्तुलन ल्याउनु,
     विकास प्रक्रियामा व्यापक जनसहभागिता बढाउनु,
     पर्यावरणिय सुधार गर्दै आर्थिक विकास गर्नु
     ग्रामिण जनजिवनमा सुधार ल्याउनु,
     ग्रामिण श्रमशक्तिलाई विकासको मुलधारमा ल्याउनु

    118282455_301508897768955_5615964006203469346_n.jpg

      कोरोना कहरको बिचमा सहरी भेगबाट धेरै मानिसहरु गाउँ फर्किएका छन् । आजपनि ६५% भन्दा बढि मानिस ग्रामिण क्षेत्रमा बसोबास गर्छन । अव विस्तारै उनिहरुको जिवनस्तरको सुधारको लागि पहिला ग्रामिण विकासको अवधारणालाई मुर्त रुप दिनुपर्छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०१६ आधार मान्दा ३०% सहरी जनसंख्या अधिक सम्पति हुने समुहमा पर्छन भने ३१ % ग्रामिण जनसंख्या सबैभन्दा कम सम्पति भएको समुहमा पर्छन । तसर्थ पनि आर्थिक असमानता कम गर्ने ग्रामिण क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ ।

      सहरबाट गाउँ फर्केका नागरिकहरु र बैदेशिक रोजगारबाट घर फर्केकाहरु सगं भएका ज्ञान, सिप, क्षमता र पुँजिलाई योजनाबद्ध ढंगबाट कृषि क्षेत्रको विकासमा योजना तथा कार्यक्रमहरु ल्याउनु पर्दछ । परम्परागत तथा निर्वाहमुखी खेति प्रणालिलाई आधुनिक व्यवसायिक प्रणालिमा रुपान्तरण गर्दै कृषि क्षेत्रको उत्पादन, व्यबस्थापन तथा बजारीकरणमा विशेष ध्यान दिनु पर्दछ । जसका कारण गाउँबाट कामको खोजिमा सहर र विदेश फर्कन पर्दैन भने बर्षेनि बढ्दो बैदेशिक व्यापार घाटामा समेत कमि आउँछ ।

      आज गाउँहरु न्युनतम आधारभुत आवश्यकताको अभावमा कारण रित्तिन थालेका छन् । सहर केन्द्रित जनसंख्या बढेको कारण न्युन तथा मध्यम आय भएकाहरुको आम्दानिको सम्पुर्ण अंश उपभोगमा सकिने अवस्था आउँछ । तसर्थ स्थानिय सरकारले स्थानिय स्रोत र साधनको परिचालनमा जोड दिनु पर्दछ । यति मात्रै होईन ग्रामिण क्षेत्रका जनताहरुले आफ्नो ठाउँलाई नरपालकै विकसित ठाउँ बनाउन राष्ट्रिय अभियान चलाउन आवश्यक छ । गाउँ गाउँका हरेक टोलका यूवाहरु उत्पादनमुलक व्यवसायमा संलग्न भई विकास निर्माणमा अभियान अगाडि बढ्दा नेपालका हरेक गाउँहरु आर्थिक रुपमा सम्पन्न हुँदै जानेछन् । नेपालको विभिन्न क्षेत्रको विकासको लागि यूवा लक्षित स्वरोजगारका कार्यक्रमहरु ल्याउनु आवश्यक छ । ग्रामिण क्षेत्रमा खेर गईरहेका स्थानिय स्रोत र साधनको समुचित प्रयोग बाट नै समग्र ग्रामिण विकास संभव छ । ग्रामिण क्षेत्रको समग्र विकास र दिगोपनाको सुनिश्चितताको लागि निम्न पक्षहरुको सबल उपस्थितिको आवश्यकता पर्दछ :
     स्थिर राजनीतिक अवस्था
     तटस्थ, प्रतिबद्ध र प्रभावकारी प्रशासनयन्त्र
     व्यवहारिक र कार्यन्वयनमुलक योजना
     व्यापक जनसहभागिता
     स्रोत र साधनको समुचित उपयोग
     स्थानिय श्रमशक्तिको प्रयोग
     भ्रष्टाचारको न्युनिकरण
     ज्ञान, सिप र क्षमता अभिवृद्धी तालिमको व्यवस्था

      कोरोना संकटलाई ग्रामिण क्षेत्रको दिगो विकासमा उपयोग गर्न सकिने थुप्रै संभावनाहरु छन् । यतिबेला हरेक स्थानिय तहहरुले आफ्नो क्षेत्रका जनताहरुलाई विकासका सपना देख्न अभिप्रेरित गर्नु पर्दछ । यूवाहरुलाई स्थानिय तहका विभिन्न उत्पादनमुलक क्रियाकलापमा जोड्न अधिकतम सुविधाहरु प्रदान गर्ने तर्फ सोच्नु पर्दछ । स्थानिय सरकारले यूवा उधमको लागि न्युनतम व्याजमा ऋण उपलव्ध , उत्पादनमुलक क्षेत्रमा अनुदान, उत्पादित वस्तुको बजारीकरणको ध्यान दिनु जरुरी छ । गाउँ लक्षित विशेष कार्यक्रम मार्फत यूवाहरुको परिचालन गरि यो अवस्थाको सदुपयोग गर्न सके छोटो समयमानै सोचे अनुरुपको विकास गर्न सकिन्छ ।

    (लेखक रुपाखेती मच्छिन्द्र बहुमुखी क्याम्पस, धुनिवेशी न. पा.७ खानिखोलामा ग्रामिण विकास बिषय शिक्षण गर्नुहुन्छ ।)

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १६:४३:२३ बजे

    अनिल रुपाखेती

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology