काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले सबै कम्पनीको खाली सिलिन्डरको भाउ २१ सय रुपैयाँ तोकेको छ । भोलि असोज २ गतेदेखि लागु हुने गरी वाग्मती प्रदेशभित्र २१ सय रुपैयाँभन्दा बढी लिन नपाइने अध्यक्ष गोकुल भण्डारीले बताए । तत्कालका लागि वाग्मती प्रदेशका लागि मात्रै यो मूल्य तोकिएपछि विस्तारै अन्य प्रदेशमा पनि तोक्ने उनले बताए ।
“उद्योगीले सस्तोमा सिलिन्डर बेचे पनि उपभोक्तालाई महँगोमा किन्नुपर्ने बाध्यता रहेकाले सबै कम्पनीको खाली सिलिन्डरको मूल्य एकै बनाएको हो,” उनले भने । सिलिन्डर २१ सय भन्दा बढीमा बेचिए तत्काल उजुरी दिन पनि उनले आग्रह गरे ।
संघले सिलिन्डरको मूल्य तोकेसँगै उपभोक्तालाई अनिवार्य बिल दिनुपर्ने व्यवस्था पनि गराएको छ । वाग्मती प्रदेशमा दुई दर्जन बढी ग्यास उद्योगका सिलिन्डर बिक्री हुन्छन् ।