काठमाडौं । चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो पाँच महिना (साउन–मंसिर) मा १९ अर्ब रुपैयाँको चामल आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–०७७ को पहिलो पाँच महिनाको तुलनामा करिब सात अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको हो।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको चामल (धानसहित) आयात भएको विभागको तथ्यांक छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल ११ अर्ब १९ करोड ३४ लाख ४२ हजार रुपैयाँ बराबरको धानचामल आयात भएको थियो। वैदेशिक रोजगारी गुमाएका नेपाली स्वदेशमै बस्नुपरेकाले यस वर्ष धानचामलको आयात बढेको दाबी सरकारी अधिकारीहरुको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की वैदेशिक रोजगारीमा रहेका नेपाली कोभिड– १९ प्रकोपका कारण फर्किएका र लामो समय स्वदेशमै बस्नुपरेपछि चामल आयात बढेको बताउँछन्।
‘यस वर्ष कोभिड–१९ प्रकोपका कारण अधिकांश नेपाली स्वदेशमै भएका कारण पनि चामल आयात बढेको हो’, डा. कार्कीले नेपाल समयसँग भने, ‘भात खानैपर्ने बानी र मोटा चामल नरुचाउने भएका कारण पनि चामल आयात हुने गरेको छ।’ कोदो, फापर, मकै, गहुँ सबै किसिमका खाद्यान्न उपभोग गरेमा नेपालीलाई स्वदेशी उत्पादनले नै पुग्ने डा. कार्कीले दाबी गरे।