शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

नागरिक पाटी

१६, पौष २०७७
  • 5.0K
    SHARES
  • पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

    काठमाण्डौँ । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो ।

    images
    images

    उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन सञ्चालनमा आएको थियो ।

    इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

    उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

    पाँच वर्षदेखि नाफामा

    लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

    निगमले आर्थिक वर्ष २०७५/७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १९:५३:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology