शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन तीव्र गतिमा काम हुँदै

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन तीव्र गतिमा काम हुँदै

नागरिक पाटी

२९, पौष २०७७
  • 7.4K
    SHARES
  • नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन तीव्र गतिमा काम हुँदै

    सञ्चिता घिमिरे
    काठमाडौं । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्को सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । उनका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उनले भने, “समयमै सकाउन सकिन्छ भन्ने लागेको छ ।”

    images
    images

    सुरुङमार्गमा अहिले २०/२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ । जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाप्रमुख अर्जुनजङ्ग थापाले बताए । उनका अनुसार दिनमा काम गर्ने घण्टा बढाउँदा धेरै काम अघि बढ्नेछ । उनले भने, “तोकिएको अवधि ४२ महिनामा नै सकाउने गरी काम भइरहेको छ ।”

    कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ । मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उनले बताए । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ । त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उनले भने, “निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।” आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिए ।

    नैकाप नजिकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उनले जानकारी दिए । सुरुङमा यसअघि मेसिनले कोतरेर खन्ने काम भएको उनले जानकारी दिए । उनले भने– जापानिजले गर्ने काममा मेसिनबाटै बढी हुन्छ ।” कतिपयले स्थानीयवासीले पहिले विभिन्न कारण देखाएर आयोजना निर्माणमा अवरोध गर्न खाजेका थिए ।

    अहिले त्यो समाधान गर्दै निर्माण भइरहेको प्रमुख थापाले बताए । सुख्खा ठाउँ भएकाले सुरुङको काठमाडौँपट्टि वर्षेनि खानेपानीको अभाव हुने गरेको छ । आयोजनाले सुख्खा मौसममा सर्वेक्षण गर्दा पानीको अभाव देखिएको थियो । विकल्प खोज्नुपर्छ भनेर आयोजनामा डिप बोरिङलगायत योजना रहेको उनले बताए ।

    सुरुङ खन्न बाँकी भए पनि कतिपयले यसकै कारण अभाव बढेको त कतिपयले पूरै वडासम्म र निःशुल्क पानी माग गरेका छन् । सुरुङ जमिनको एक सय मिटरमुनि हुने र माथि घर बनाउने, खेती बनाउने गर्न मिल्ने भए पनि त्यहाँका मानिसले मुआब्जा मागेको उनको भनाइ छ । उनले भने, “सुरुङमा घर पनि बनाउन पाउने र मुआब्जा पाउने भन्नेछ ।”

    गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

    आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुईवटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् ।

    सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँ–ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गामाटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ । जाइकाको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न प्रक्रिया शुरु भएको दुई वर्षपछि मात्रै निर्माण थालिएको थियो ।  रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १९:११:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology