कविता
म जन्मदेखि टाढिँदै छु
मेरो मायाको प्रतिबिम्ब एउटै छ
कोखाइ र चोखाई बिर्सिंदै
मातृ र पितृ वात्सल्य थाती राख्दै
उनी मेरो न्यानो आभास हुँदैछिन्
मेरो जिन्दगीको आस हुँदैछिन्
अरु त के रह्यो र
मेरो अन्तिम सास हुँदैछिन् !
क्षमता मा के कम थिएँ र
खेलौना ल्याएको भकुण्डो धुरी नघाउँथे
प्रत्येक छाक हातको पसिनाले अघाउँथे
तर आज खेलौना म भएको छु
नखाएनी अघाएको छु
उनैको सपनामा धाएको छु
किनकि म जन्मदेखि टाढिँदै छु !!
अब विरुवा वयस्क हुन थालेछ
बीउ नचिन्दै उसैमा बीउ पलाएछ
प्रत्येक हावाका झोकाहरु
अरु तन्नेरी विरुवा सँग साट्दै
आफ्नो धरातल भन्दा केही पर
गुजुमुज्ज परेको छ
वाह ! उसले आज समय बिर्सेको छ
त्यसैले होला आफ्नो भन्दा अरूसँग बाँडिदै छ
शायद त्यो बोट जन्मेदेखि टाढिँदै छ !!!