धार्के । धादिङको धुनिबेशी नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८को अर्धवार्षिक समिक्षा कार्यक्रम भएको छ । आईतबार नगरपालिकाले कार्यपालिकाको सभाहलमा अर्धवार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको हो । चालु अर्थिक वर्षको ६ महिनामा नगरपालिकाको विषयगत शाखाबाट भएको कार्यक्रमका बारेमा शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो शाखाबाट भएको प्रगति विवरण प्रस्तुत गरेका थिए । वडा तथा नगरपालिकाको विभिन्न योजनाहरुको उपभोक्ता समितिबाट सम्पन्न भएको कार्यक्रमको बारेमा पनि जानकारी गराईएको थियो ।

नगरसभाबाट पारित कुल आय व्यय अनुमानीत रु. ६९ करोड ३३ लाख ८७ हजार ५ सयमा नगरपालिकाको साउन ०९ गतेको निर्णय अनुसार ८ करोड ९१ लाख ४ हजार ९ सय ३६ रुपैयाँ बराबरको योजनाको म्याद थप भइ दायित्व सृजना भएको तथा संघिय सरकार र प्रदेश सरकारलाई २ करोड ४४ लाख ३५ हजार १ सय ५६ रुपैयाँ फिर्ता भएको लेखा अधिकृत गोविन्द पौडेलले जानकारी गराएका छन् । नगरसभाबाट पारित रु. ६९ करोड ३३ लाख ८७ हजार ५ सय रुपैयाँको प्रस्तावित आयमा हाल सम्म ३९ करोड ८४ लाख ४६ हजार ९ सय ५३ रुपैयाँको आय देखिएको छ भने २९ करोड ४९ लाख ४० हजार ५ सय ४७ रुपैयाँको राजश्व उठन बाँकी रहेको लेखा अधिकृत पौडेलको भनाई छ ।
अर्धवार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाको मेयर बालकृष्ण आचार्यले शाखाबाट प्रस्तुत भएको कार्यक्रमलाई यो आर्थिक वर्षको अन्तिममा ९० प्रतिशत काम सक्ने गरि योजना बनाएर काम गर्नु सबै शाखाका कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले केही कुरामा कतैबाट दवाब आएमा आफूलाई भन्न समेत कर्मचारीलाई आग्रह गरेका छन् । नगरपालिकाले केहि दिन अघि मात्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।