धादिङ । धुनिबेशी नगरपालिका वडा नम्बर ९ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । वडा नम्बर ९ नयाँवस्ती टायलघरमा निर्माण गरिएको भवनको नगरप्रमुख बालकृष्ण आचार्यले बुधबार बिहान उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख निरु खरेल, वडा अध्यक्ष साँईला राई, नेकपा एमाले धुनिवेशी नगर कमिटीका अध्यक्ष रामराजा पाण्डे लगायतको सहभागिता रहेको थियो ।
भवन निर्माणको लागि नगरपालिकाले होम ओ एस जेभी सँग गत वर्षको असार २९ गते सम्झौता गरेको हो । भवन निर्माण गत महिनाको जेठ ३० गते सम्पन्न गरिसक्नुपर्ने भएपनि फिनिसिङ लगायतका सुधारका काम बाँकी रहेको नगरपालिकाका ईन्जिनियर रामशरण अधिकारीले बताउनुभयो । १ करोड ४५ लाख ९४ हजार रुपैँयामा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएकोमा नगरपालिकाले अहिले सम्म १ करोड ३४ लाख ५१ हजार रुपैँया भुत्तानी गरिसकेको छ ।
यसैबिच बुधबार नै नगरपालिकाको ३ नम्बर वडा कार्यालयको पनि उद्घाटन गरिएको छ ।
यो पनि : धुनिबेशी वडा नम्बर ३ को नवनिर्मित भवन उद्घाटन, १ करोड ६३ लाख ८५ हजार रुपैँयामा निर्माण