आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बजार अनुगमनको कहानी : पैसा लग्यो, सामान लग्यो, रसिदको के काम ?

बजार अनुगमनको कहानी : पैसा लग्यो, सामान लग्यो, रसिदको के काम ?

  • 6.3K
    SHARES
  • बजार अनुगमनको कहानी : पैसा लग्यो, सामान लग्यो, रसिदको के काम ?

    व्यवसायीमा व्यावसायिक चेत र सचेत नागरिकको अंश भएन भने आम उपभोक्ताले त अखाद्य वस्तुहरु खानुपर्छ नै । प्रहरी, प्रशासनलाई समेत गाह्रो हुने रहेछ । धादिङमा विगत ६२ दिनदेखि निरन्तर बजार अनुगमन भइरहेकोमा आजको अनुगमनमा बडो विचित्र दृश्य देखियो ।

    images

    धादिङबेशीस्थित बीचबजार चोकबाट रायटारतिर मोडिदा तीन चारओटा पसल पर्तिर बायाँ साइडमा एउटा फलफूल पसल रहेछ । अनुगमन टोलीका तीन जना सदस्य कार्यालयको नियमित काम सकेर त्यहाँ पुगेका थियौं । फलफूल पसल भएका कारण यसअघि आसपासमा अनुगमन गर्दा समेत अनुगमन गर्नुपर्छ भन्ने लागेन । आज अनुगमनको लागि पुग्दा पसलमा कसैलाई देखिएन । पल्लोपट्टि तरकारी पसलमा भएकी दिदीलाई सोधेः यो पसलको साहुजी कता हुनुहुन्छ होला ?
    के काम हो ?
    हामी अनुगमनको लागि आएका थियौं । उहाँलाई बोलाइ दिनुस् न !
    "मै हो ।"
    तपाइकै पसल हो र यो पनि ?
    "होईन ।"
    अनि किन त यहाँ ?
    "यो पसलको साहुजी बाहिर गा'छन् त्यै भएर हेरिदिएको ।"

    टोलीको मतलबै छैन । उहाँ तरकारी बेच्नमै व्यस्त । ६ सयभन्दा बढी पसल अनुगमन गरिसक्दा पहिलो पटक हो उहाँ जस्तो व्यवसायी देखेको ।

    मैले फेरी त्यताको काम छोडेर आफ्नै पसलमा आउनुस् भनेको मात्र के थिए । नराम्ररी झर्किएर "तपैहरु जहिल्यै बन्द हुने बेलामा आउने । दुःख दिने ।" अरे !

    टोलीका अरु सदस्यलाई पसलमा हेर्न भनेँ । पसल यति साँघुरो पारिएको कि ! एकजना मान्छेलाई पनि मुश्किलले आउजाउ गर्न मिल्ने । पसलका कागज माग्यौं । खुद्रा किराना, फलफूल बिक्री गर्ने अनुमति रहेछ । हेर्दा सानो लाग्ने पसलमा अगाडिपट्टि केही क्यारेट फलफूल छन् । त्यसमा केही कुहिएका आँप र केही अनार छन् ।

    सद्दे र बिग्रिएका फलफूललाई एकै ठाउँमा राख्न हुन्छ र दिदी ?
    साहुनी भन्नुहुन्छ "यो बुंगंरलाई खुवाउने हो ।"
    अनि बुंगुरलाई खुवाउने र मान्छेलाई बेच्ने सामान यसरी एकै ठाउँमा राख्न मिल्छ त ? साहुनीको प्रतिक्रिया आउदैन । सुनेको नसुन्यै गर्नुहुन्छ ।

    न पसलको बोर्ड छ । न मूल्यसूची । न पसलको बिल छ । पसलमा फोहोर उस्तै । फलफूल पसलमा चुरोटका बण्डल भेटिन्छन् । सूर्तीका ५२ पाकेट मिठाईको बट्टामा हालेर राखिएको छ । फ्रिज हेर्दा त्यहाँ ड्यु, फेन्सी, कोकाकोला, पेप्सी गरी २५ लिटर जति पेय पदार्थ र ९ ओटा मिला क्यान जुस भेटिन्छन् । बन केक, बिस्कुट चाउचाउ मःमः मसला चकलेट दालमोठ के-के हो के-के गरी सानो पसलमा २३ प्रकारका म्याद गुज्रिएका र अनुमति बिना बेच्न नहुने सूर्ती, चुरोट जस्ता सामग्री भेटिन्छन् ।

    पसल सञ्चालनमा निकै लापरबाही देखिएको र माथिका हेलचेक्रयाँइका कारण रू. १० हजार जरिवाना गर्नुपर्ने देखिन्छ । फाराम भरेर उनलाई दिइन्छ ।
    "यत्रो सामान लगिसक्यो । अझ के को जरिवाना ? म त तिर्दिन ।" फाराम लिनै मान्नु हुन्न ।
    अनुगमनमा साहुनी जस्तै झर्किएँ भने त उहाँ र हामीमा के फरक र ? त्यसमाथि महिला व्यवसायी ।
    नजिकै चोकमा ड्युटीमा खटिएका एकजना हवलदार र एकजना महिला प्रहरीलाई बोलाएर सोधे "यस्तो लापरबाही रहेछ यो पसलमा अनुगमन तपाईहरु के ड्युटी गर्नुहुन्छ ?"
    महिला प्रहरी भन्छिन् "सर यो पसलले हामीलाई त टेर्दै टेर्दैन । हामी वाक्कै भइसकेका छौं । सशस्त्र प्रहरी आयो भने मात्र अलिकति टेरेको जस्तो गर्छ, सटर झार्छ, एकछिन पछि फेरी खोलिहाल्छ । साह्रै अटेरी पसल हो सर । आज सरहरुले जरिवाना गर्नुभएछ । गर्नैपर्ने थियो ।"
    मैले त जरिवाना तिर्न अटेरी गरे सहयोग लिनुपर्ला भनेर बोलाएको प्रहरीको प्रतिक्रिया सुनेपछि तीनछक परेँ । प्रहरी आफै पीडित रहेछ । महिला प्रहरीलाई सम्झाई बुझाई गरेर पठाएपछि उनले गएर भनिन् "अब सरहरुले जरिवाना गरिसक्नु भयो । तिमीसँग विकल्प छैन । या तुरुन्त जरिवाना तिर, नत्र उहाँहरुले पसल सिल गरिदिनु हुन्छ ।"
    साहुनीले भनिन् "मसँग पैसा सैसा छैन ? कहाँबाट ल्याउनु १०-१० हजार ? श्रीमानको फोन पनि लाग्दैन । भोलि तिर्छु ।"
    अब तिर्नसम्म सहमत भईन् ।
    राजेन्द्र जी भन्नुहुन्छ "भोलि पर्सी भन्ने हुँदैन । आजै तिर्नुपर्छ र अहिल्यै तिर्नुपर्छ । श्रीमानको नम्बर दिनुहोस् म आफै फोन गरेर भन्छु ।"

    उनी लुसुक्क बाहिर निस्किएर पसल पछाडि गईन् । त्यतिञ्जेल वरीपरीका सबै मानिस कोही छतबाट, कोही सडक पारी उभिएर हेर्दै थिए । कोही मोटरसाइकल रोकेर सडकबाटै हेर्दै थिए ।
    साहुनी श्रीमानलाई खोज्न गईन् वा पैसा खोज्न ! थाहा भएन । केही समय लागेपछि म पब्लिक भएतिर गएँ । पब्लिकलाई भने "हामी अनुगमनको लागि आएका हौं । त्यो पसलमा २३ प्रकारका अखाद्य सामग्री भेटिएका छन् । तपाईहरु नै हो उपभोक्ता, सामान किन्दा सचेत हुनुहोला । पैसा पनि तिर्ने, अखाद्य वस्तु पनि उपभोग गर्नुपर्ने, अनि स्वास्थ्य पनि बिगार्ने ।"
    साहुनी फर्किएर आईन् । काउन्टरमा छिरिन् ।
    पैसा निकालिन् । टेबलमा राखिन् । फाराममा हस्ताक्षर गरिन् ।
    जरिवाना गरेको रसिदमा पनि हस्ताक्षर गर्नुपर्ने थियो । महिला प्रहरीले नै लगेर दिईन् । साहुनीको जवाफ थियो "सबै पैसा लगिसक्यो, सामान नि लगिसक्यो । रसिदको के काम ? चाहिदैन रसिद ।"
    जानेबेलामा जफत गरेका सामान राख्न एउटा बोरा माग्दा भन्छिन् "छैन बोरासोरा ।"
    साहुनीको पारा उस्तै । मैले विशाल भाईलाई भनेँ "भाई त्यो रातो क्यारेटमा हाल । पुगेन भने अर्को क्यारेटमा हाल । भोलि फिर्ता ल्याई दिउँला ।"
    विशालले त्यसै गरे । पेय पदार्थको बोतल यत्तिकै हालियो । चाउचाउहरू कार्टुनमै राखियो । बाँकी आइटम रातो क्यारेटमा खाँदखुँद पारेर हालेर हिडेका छौं । सामान घरेलु कार्यालयमा जलाउने गर्छौं । क्यारेट त्यही हुनेछ । फिर्ता दिन बिर्सिने छैनौं ।
    अँ साँच्ची ! क्यारेट दिन बिर्सियो भने तपाईहरू सम्झाई दिनुस् है । अनि सामान किन्दा सचेत पनि हुनुहोस् है !

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - २२:५९:०२ बजे

    गोकर्णप्रसाद उपाध्याय

    लेखक अहिले धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology