आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गुरुङ जातिको मुख्य पर्वः तमु ल्होछार

गुरुङ जातिको मुख्य पर्वः तमु ल्होछार

नागरिक पाटी

१५, पौष २०७८
  • 7.7K
    SHARES
  • गुरुङ जातिको मुख्य पर्वः तमु ल्होछार

    विमला गुरुङ

    images

    ल्होछार नेपालमा विभिन्न जाति र समुदायहरूले फरक फरक समयमा मनाउँदै आएको एउटा पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सॉंस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको पाइन्छ । तर ल्होछार मान्ने जाति र समुदायहरूमा भने एकरूपता नभई फरक समय र नामले ल्होछार पर्व मनाउ‘दै आएका छन् । यही क्रममा गुरुङ जातिले पुस १५ गतेको दिन तमु ल्होछार मनाउँदछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन सोनाम ल्होछार मनाउ‘दछन् । उता हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होसार मनाउ‘दछन् ।

    तमु ल्होछार गुरुङ जातिको मुख्य पर्व हो । ल्होछार शब्द ल्होंछार दुइवटा शब्द मिलेर बनेको छ, जसको शाब्दिक अर्थ पर्गेल्दा तमु भाषामा ल्हो को अर्थ वर्ग र छार को अर्थ नयॉ हो । त्यसैले, यसलाई नयॉ वर्ग फेरिने दिन तथा नयॉ वर्षको रुपमा हेरिन्छ । यही ल्होछार शब्दलाई तिब्बती भाषामा ल्होसार भनिन्छ । त्यसैले नेपालमा पनि तिब्बती भाषाको निकट रहेको शेर्पा जातिले ल्होछारलाई ल्होसार नै भन्छन् । यसबाहेक अन्य जातिले पनि हिजो आज ल्होछार र ल्होसार दुबै नाम प्रयोग गर्दै आएका छन् । जे नाम दिए पनि यसको अर्थ नयाँ हो ।

    १२ वटा वर्ग
    तमु चि (ज्योतिष शास्त्र) अनुसार एउटा ल्होकोर (वर्ग चक्र) मा १२ वटा वर्ग हुन्छन्, जुन विभिन्न पशुपन्छी र जीवजन्तुहरूको नामबाट नामकरण गरिएको हुन्छ । यही ल्होकोर अनुसार गुरुङहरुले तमु ल्होछार प्रत्येक बर्षको पुस १५ गतेको दिन मनाइन्छ । यस दिनमा चालु वर्गको अन्त्य र नयॉ वर्गको सुरुआत भएको हुन्छ ।

    वर्ग (ल्हो) को रुपमा गणना गरिने १२ वटा वर्ग चक्रलाई समग्रमा ल्होकोर भनिन्छ । यही ल्होकोर (वर्ग चक्र) मा समावेश भएको पशुपन्छी र जीवजन्तुहरुको नाम यस प्रकार छः १। तल्हो (घोडा) २।ल्हुल्हो (भेडा) ३।प्रल्हो (बाँदर) ४।च्यल्हो (चरा) ५।खिल्हो (कुकुर) ६।फोल्हो (मृग) ७।च्युल्हो (मुसा) ८।ल्वोंल्हो (गोरु) ९। तोल्हो (बाघ) १०। हिंल्हो (बिरालो) ११।सप्ह्रील्हो (सर्प) १२। मुप्ह्रील्हो (गरुड) ।

    यसरी माथिका १२ वटा वर्ग क्रमशः १२ वर्षसम्म लगातार र प्रत्येक १२ वर्ष पछि पुनः त्यही वर्ग दोहोरिन्छ । यिनै वर्गलाई आधार मानेर मानिसको उमेरको गणना गरिन्छ । यसरी एउटा वर्गको समाप्ती पछि अर्को वर्गको आगमन हुने दिनलाई नै ल्होछार पर्वको रूपमा मनाइन्छ । जस्तो यो वर्षको चालु वर्ग ल्वोंल्हो (गोरु) वर्ग हो भने अव आउने वर्ग भनेको तोल्हो (बाघ) वर्ग हो । यसै दिनलाई गुरुङहरू चालू वर्गलाई विदाई र नयाँ वर्गको आगमनलाई स्वागत गर्दै तमु ल्होछार मनाउँदछन् । तमुहरूको चि (ज्योतिषशास्त्र) अनुसार नौ वटा मेवा र आठ वटा पार्क हुन्छन् । ल्हो र मेवाको आधारमा मानिसको प्रकृति वा लक्षण थाहा पाउन सकिन्छ भने ल्हो र पार्कको आधारमा शुभ अशुभ फल थाहा पाउन सकिन्छ ।​

    ल्होछारको दिन तमुहरु एकापासमा शुभकामना साटासाट गर्दै आफूभन्दा ठूला अभिभावक, गुरू र मान्यजनहरूबाट आर्शिबाद थाप्दै रिपु (बेसार रंगाएकोे पहेंलो धागो) गाँठो पारेर लगाउने र साथीसंगीहरु बिचमा नाचगान गरी मनोरञ्जन गर्दछन् । यस दिनमा सामाजिक रूपमा सबै साथीसंगीहरु स्योर (चामल उठाएर) स्यौ कै खान्छन् भने धार्मिक रूपमा सो दिन धर्मगुरुहरू लामा पच्यू र ग्याब्रीहरुमार्फत् आर्शिवाद थाप्ने र धार्मिक आस्थाको केन्द्र मानिने मन्दिर वा गुम्बाहरूमा गई आफ्नो ग्रह शान्ति र कुशल मंगलको कामना गर्दै पूजापाठ गर्दछन् । साथै आर्थिक रूपमा व्यक्ति वा संघ सस्थाहरुसंग बर्ष भरिको आर्थिक कारोबारको हिसाव किताव मिलान गर्न पनि यसै पुस १५ लाई नै भाका राखिएको हुन्छ । यसै गरी सांस्कृतिक रूपमा विभिन्न शुभ अशुभ कार्यहरु जस्तै विवाह, छेवार, पुटपुटे, अर्घौ, आदि जन्मदेखि मृत्यसम्मको सवै संस्कार र कार्यहरु गर्नको लागि यसै ल्हो (वर्ग) लाई नै आधार मानेर गरिएको हुन्छ । त्यसैले, ल्होछार पर्व गुरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व हो ।

    हाल आएर ल्होछार पर्वको मौलिकता हराउँदै गएको छ । गुरुङ समदायको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक रूपले प्रतिनिधित्व गर्ने यस पर्वलाई जोगाउने अवको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ ।

    लेखक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत छिन्

     

    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ११:३६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology