आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रेम ठूलो कि यौन ?

प्रेम ठूलो कि यौन ?

  • 30.2K
    SHARES
  • प्रेम ठूलो कि यौन ?

    मनाङबाट बेसीशहर आउँदै थिएँ । भुलभुलेमा आउँदा झमक्क साँझ पर्न लाग्यो । आउँदा जाँदा सधैं बास बस्ने गरेको नेपाली होटलमा पुगेर झोला बिसायौं । यो रूटमा साइनबोर्ड नभएका होटललाई नेपाली होटल र साइनबोर्ड भएका होटललाई टुरिष्ट होटल भन्ने चलन छ ।

    होटल साहुजीको ३ बर्षे कान्छो छोरो 'आमा ,आमा !' भनेर रोइरहेको थियो । एउटी वृद्धा महिला उसलाई फकाइ पुल्याइ गर्ने निरर्थक प्रयास गरिरहेकी थिइन् । घरीघरी आफ्नो दूध चुसाउन खोज्थिन् ,तर बच्चा दूध चुस्न मान्दैनथ्यो । खानेकुरा खाँदै ऊ बेलाबेलामा 'आमा! आमा!'  भनिरहन्थ्यो । अर्को ७ वर्षे ठूलो छोरो भने रोएको थिएन ,तर बेला बेलामा ऊ पनि 'बज्यै,आमा कहिले आउनुहुन्छ ?' भनेर सोध्ने गर्थ्यो ।

    यी दुई अबोध बच्चाहरुको सोधाइको जबाफ दिने कोही थिएन । बच्चा फकाउन नसकेर व्रिद्धा निरास बनेकी थिइन् । भरियाहरुलाई चाउमिन बनाउदै गरेको साहुको अनुहार झनै फुङ्ग उडेको थियो ।

    'साहुजी , साहुनी खोइ त आज? बच्चा पनि रोएको रोयै छ त !' मैले अप्ठ्यारो मानी मानी सोधें ।

    'कता जानु नि सर ! यो वर्खाको उर्लिदो मर्स्याङ्दीमा गई । ' साहुजीले विरक्त लाग्दो स्वरमा जबाफ फर्काए ।

    'कुरो के भएको हो बज्यै ? ' मैले फेरि सोधें ।

    'पोइला गई नि बाबु ! आज तीन दिन भयो । सानो बाबु रोएको रोयै गर्छ । ठूलो बाबु आमा सोधेको सोध्यै गर्छ । नाबालख छोराहरुको माया मारेर हिंडी बाबु ! म मावली बज्यै हुँँ ,नातिहरु स्याहार्न आएको । रुनु न हाँस्नु जस्तो भएको छ । ' बज्यैले दुखेसो पोखिन् ।

    'यस्ता कलिला बाबुहरु छोडेर कोसँग गइन् त साहुनी दिदी ?' मैले आश्चर्य प्रकट गरें ।
    त्यसपछि सबैले मुखामुख गरे ।

    हाम्रो कुरा सुनिरहेकी सामुन्नेको चुरापोते लगायत कस्मेटिक पसल अगाडि उभिइरहेकी मुस्लिम महिला पसलभित्र पसिन् । अनि बल्ल एकजना मान्छेले भन्यो ' हो ,तिनैको बुढाले लग्यो । '

    'उस्का पनि यिनैको उमेरका दुइ छोरा छन् । बाबा सम्झेर रोएका छैनन् ,आमालाई मात्रा पिर छ । यिनको आमालाई पिर छैन बच्चा र बाबुलाई पिर छ । ' बज्यैले भनिन् ।

    'हावास् त सर ! हाम्रो कुरा बुझिहाल्नुभयो । हजुरलाई यहाँँ बस्न समस्या हुन्छ । बच्चा रातभरि रोइरहन्छन् । अर्कोमा बस्नुहोला है सर ! ' साहुजीले आफ्नो समस्या दर्साए । म पनि 'हुन्छ 'भनेर झोलुङ्गेपुल छेउको टुरिष्ट होटलतिर लागें ।
       
    खाना खाएर सुते पनि निद्रा राम्रो लागेन । मान्छेले प्रेमलाई ठूलो ठान्छ कि यौनलाई ? यही कुराको तर्कना आइरह्यो ।

    दुवै आफ्ना जीवनसाथीसँग बस्दै आएका र नाबालिग बालबच्चा भएका उनीहरुबीच चोचोमोचो कसरी मिल्यो होला । उनीहरुले के प्राप्त गर्न घरको बेहाल बनाएर हिंडे?

    होटलका साहु साहुनी कहिल्यै अलग बसेका थिएनन् । सधैंं सँगइ बसेका थिए । साहु दिउसो गोठ र खेतमा काम गर्न गए पनि साँझ विहान सँगै हुन्थे । आफू कुनै कारणबस टाढा जानुपर्‍यो भने आफन्तलाई साथी बस्न बोलाएर मात्र बाहिर जान्थे । साहुनीलाई होटलमा एक्लै कहिल्यै छाडेनन् । सधैंं हासीखुशी बसेको सुन्दर परिवार थियो ।

    साहु साहुनी दुवै इमान्दार थिए । कसैले झुक्किएर सामान ( सुकाएका कपडा ,सिरानीको टर्च आदि} छुटेछ भने पनि अर्को पटक आउँदा सुरक्षित राखिदिएका हुन्थे । आफ्नै गाउँमा उत्पादित ताजा खाद्यान्न ,फलफुल तरकारी ल्याएर मिठो परिकार बनाउथें ।

    हामी दिउसो आइपुगेको बेला उक्त होटलमा खाजा खाने गर्थ्यौ । त्यो बेला कस्मेटिक पसलको मिया दाइ पनि त्यहाँ चिया खान आउथे । मान्छे नआएको बेला त्यही गएर कुरा गरेर बस्थे । साहुनी पनि दिउसो अली फुर्सदमा हुन्थिन् । ऊसँग गफ गरेर समय कटाउथिन् । गुरुङ महिला र मुस्लिम पुरुषको त्यो कुराकानीलाई कसैले पनि शंकाको दृष्‍टिले हेरेनन् । सबैले त्यसलाई 'टाइमपास ' गफ मात्र सम्झिए तर त्यही खाली समयको कुराकानीले उनीहरुबीच हार्दिकताको डोरी बाटिन पुग्यो ।

    सँगै गोठाला जाँदा पनि माया बस्न सक्छ ,संगै खेताला जाँदा पनि माया बस्न सक्छ । तर विवाहेतरको माया बसेको कुरालाई भने प्रेम भन्न सकिन्न । त्यो यौन हो । मान्छेले यौनलाई बसमा राख्न सकेन भने सुन्दर जीवन पनि तहसनहस भएर जाने रहेछ । उठिसकेको जीवनलाई शून्यमा पुर्‍याएर नयाँ बाटो रोज्नेहारु प्रेमका भोका होइनन् ,यौनका पूजारी हुन् ।
    ******************************************************************************
    जागिरे जीवनमा गोरखाको एक दुर्गम बस्तीमा झोलुङ्गेपुल बनाउन बसेको थिएँ । तामाङ र बरामहरुको बसोबास रहेको उक्त गाउँमा एकजना इण्डियन आर्मीका पेन्सन्वाला लाहुरे पनि थिए । हामी उनको घरमा बसेका थियौं । उनको छोरा भारतमा मार्बल उद्योगमा काम गर्थे ।

    एकदिन अचानक मार्बल ठड्याउदै गर्दा मार्बलको खात ढलेर दाहिने गोडा किचियो र भाँचियो पनि । लाहुरे बुवा गएर छोरालाई बोकाएर गाउँमा ल्याए । दाहिने गोडा पुरा प्लाष्टर गरिएको थियो । २ महिनापछि प्लाष्टर फुकाउनु पर्ने थियो ।

    घाइते भएर आएको लोग्नेको स्याहार सुसार गर्नुप्र्ने अवस्था रहेकोले उसकी श्रीमतीले हेरचाह गर्नुपर्नेमा ऊ आएको केही दिनमै तल्लाघरको जेठाजु पर्नेसित उनी भागेर अलप भइन् । तेह्र वर्षकी छोरी र सात वर्षको छोरो हुँदा हुँदै पनि बुढो जेठाजुलाई रोजेर गएपछि उनीहरु फर्केर आएनन् ।

    दुई महिनापछि गोडाको प्लास्टर फुकाइयो । गोडा निको त भयो तर हिड्दा गोडा खोच्च्याएर हिंड्नुपर्ने अवस्था आयो । दोश्रो बिहे गर्दा छोराछोरी लाई हेला गर्छन् कि भनेर उसले सालीलाई फकाएर ल्यायो ।

    तर यस घटनाले उसको मनमस्तिष्कमा यस्तो असर पर्‍यो कि ऊ पनि भाग्ली कि भन्ने भयले गर्दा घाँसदाउरा, मेलापात, चुलोचौका र पानीपधेंरो जता गए पनि उसले एक्लै जान दिएन । ऊ जहाँ जहाँ गए पनि खोच्च्याउदै पछि लागिरहेको हुन्थ्यो ।

    त्यस्तो कडा गर्नुपर्ने कारण के छ र भनेर सोध्दा उसले भनेको थियो -'छोराछोरी हुर्किसकेका र बुढी भइसकेकी त पोइल गई भने यो त कोही नभएकी तरुनी छ । कसैले फकाएर लाग्यो भने के गर्नु नि सर ! जिन्दगीभर यसैको गोठालो लाग्छु । '

    अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने झैं आफ्नी श्रीमतीले अरुसँग कुरा गरेको र हाँसखेल गरेको फिटिक्कै मन पराउदैनथ्यो र 'चूप लाग ,चूप लाग ' भनेर सम्झाउथ्यो ।
     
    यसरी वर्षमा १-२ पटक घरमा आएर फर्कने गरेको मान्छे सधैंं श्रीमतीको पछि लागेर हिंड्नुपर्ने अवस्था आयो ।  
    ************************************************************
    अब संखुवासभाको भोटखोलाका भोटे जातिको केटाकेटीको प्रेमको बारेमा कुरा गरौं ।

    उनीहरुको ५-६ कक्षा पढदादेखि नै मायाप्रीति बसेको थियो । दुबै एउटै विद्यालयमा पढ्थे । गाउँ भने छिमेकी गाउँ थियो । दुवै एक अर्कालाई मन पराउथे । एस्ईई परीक्षा दिएपछि बिहे गर्ने वाचा गरेका थिए ।

    एसईई परीक्षा दिन दुवैजना खाँदबारी आएर बसे । केटीहरु छुट्टै बस्थे , केटाहरु छुट्टै बस्थे ।

    केटा म बसेको घरमा बस्थ्यो । ऊ आफू ५-६ कक्षादेखि नै प्रेममा परेको र अब गाउँ गएर बिहे गर्ने कुरा गर्थ्यो ।

    तर घटनाले नाटकीय मोड लियो ।

    एस्ईई परीक्षा सकिएको दिनमा केटीले केटालाई तुँडिखेलमा भेट्न बोलाई । ऊ खुशी भएर भेट्न गयो । तर केटीले 'अब म तँसित बिहे गर्दिन । म आफ्नो बाटो लाग्छु , तँ पनि आफ्नो बाटो लाग् 'भनेर पो गई ।

    केटोलाई असह्य पीडा भयो । आफ्ना साथीलाई बोलायो र दु:ख पोख्यो । साथीहरुले सान्त्वना दिए र उसलाई १ बोतल सरुवा (फिल्टर जाँड ) खुवाइदिए । ऊ झनै भावुक भएर छुरा धसेर मर्छु भनेर रुन थाल्यो ।

    उसका साथीहरु पनि ऊ सँगै आए । उसले त्यो रात रोएर र अलाप विलाप गरेर बितायो ।

    भोलिपल्त अरु साथीहरु पनि आएर सम्झाए । कुराको रहस्य र भेउ खोलिदिए ।

    कुरो के रहेछ भने भर्खर प्रहरीमा भर्ना भएको सजातीय केटोले केटीलाई फकाएछ । केटीले मेरो अर्कैसँग प्रेम छ भनेर इन्कार गरिछ । तर केटोले आफू जागिरे भएको र जिन्दगी राम्रो हुने कुरा दर्शाएर रु ७००० पकेटखर्च पनि दिएछ । अनि उसलाई भेटेर 'मा तँसित आउदिन भनेर भनिदिनु ' भनेर फकाएछ । अनि केटीको मन मोडिएछ र ४-५ वर्षदेखिको प्रेम चटक्कै भुलिछ ।

    यो कुरा बुझेपछि बल्ल केटा सम्हालिन थाल्यो र केटीलाई बिस्तारै भुल्ने प्रयास गर्न थाल्यो । अनि गाउँ गएर अर्को गाउँकी केटी भगाएर ल्याएर उसले भन्दा पहिला बिहे गरेर देखाइदियो ।

    अनि उसको गाउँमा पुग्दा उसले भनेको थियो - प्रेम र पैसामा एकथोक रोज्न परे मान्छे पैसा नै रोज्दा रहेछन् सर !

    माथिका घटनाहरु त केही प्रतिनिधि घटनाहरु मात्र हुन् । दुर्गम भेगका ग्रामीण जीवनमा मैले सच्चा मायाप्रेमका साथै अवाञ्छित यौनजन्य घटनाहरु प्रशस्त भेटेको छु । मानिसहरु कोही शारीरिक आकर्षणलाई प्रेम भन्ठान्छन् । कोही झुट्ठा आश्वासन स्वार्थप्रेरित मायालाई प्रेम भन्ठान्छन् । कोही यौनजन्य आकर्षणलाई प्रेम भन्ठान्छन् । तर सच्चा प्रेमले बदलामा केही चाहदैन । मात्र हार्दिकता र सद्भाव खोज्छ । तर अहिले पाश्चात्य संस्कृतिको प्रभावले गर्दा यौनलाई प्रेम सम्झेर जिन्दगी बर्बाद पारिरहेका हुन्छन् । समाजमा हुने आपराधिक घटना र हिंसाका घटनाहरु मध्ये ५० प्रतिशत घटनाहरु अवाञ्छित र अनैतिक यौनसम्वन्धका कारण हुने गरेको पाईन्छ ।

    त्यसैले ,यौनलाई होइन , प्रेमलाई सर्वोपरि ठानौं । किनकि विश्वका सबै मानिसले बुझ्ने भाषाको नाम नै प्रेम हो । अस्तु ! 

    images

    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १२:१९:५९ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology