- प्रभात न्यौपाने
अस्ति थानकोटबाट रत्नपार्कको लागि बसमा यात्रा गरिरहेको थिएँ । वास्तवमा म प्रेमीका भेट्न काठमाडौं गएको मान्छे । हाम्रो रत्नपार्कमा भेट भएर पशुपतिनाथ र स्वयम्भू मन्दिर घुम्दै चोभार जाने प्लान थियो । म अनलाइनमै थिए उनले म्यासेज गरिन् ।
' साने कहाँ पुग्नु भयो?'
' प्रहरि बिट कट्यो'
' तिमी?'
' म भर्खर गाडी चढेको'
मेरो ध्यान मोबाइलमै भएकाले होला गाडिमा चढ्ने र ओर्लनेहरू प्रति खासै ध्यान थिएन । आँखामा पावरवाला चस्मा थियो। माक्स त काठमाडौँमा अनिवार्य नै छ। निलो जिन्सको पाईन्ट 👖 हरियो ज्याकेट , निलै जुत्ता र कालो टोपी लगाएको थिएँ। काठमाडौँमा मलाई चिन्ने मेरो आफन्त बाहेक कोहि थिएन न मैले कसैलाई चिन्दथे , हाम्रो पहिलो भेट थियो मास्क लगाएको थिएँ उनले पनि चिन्न सक्दिनथिन सायद्।
म गाडीको देब्रे तिरको दोस्रो सिटमा थिए छेउमा एउटी युवती थिइन् । अफिस हिडेकी रहिछन्। कहाँ? सोधे- नेपाल टेलिकम । सामान्य परिचयात्मक कुराकानी भयो हाम्रो ।
हाम्रो सिट भन्दा पछाडीको सिटमा पनि दुई जना युवतीहरु थिए । गाडीमा बसेदेखि नै बरबराइरहेका थिए , केहि कुराहरु मेरा कानसम्म पनि ठोकिन्थे।
बोल्दै गर्दा एउटीले सोधी
- 'सन्ध्या यो केटा कस्तो छ?'
सायद मोबाइलमा कसैको फोटो देखाएकी थिइ उस्ले ।
- ' अं.... हेन्डसम छ , को हो? '
मेरो ध्यान उनिहरुको कुराकानीमा केन्द्रित भयो।
- भेट्न आएको छ के ; उसले थपी ।
- ' ए तं रत्नपार्क हिड्या उसैलाई भेट्न! '
- उम
मलाई कौतुहलता जागेर आयो उनिहरुको कुरा ध्यान दिएर सुन्न थाले। आखिर म पनि कसैलाई भेट्न रत्नपार्क जादै थिए ।
- ल बधाई छ नक्कली फोटो खिचेस् है उसंग । सन्ध्याले जिस्काउदै भनि।
- ओके
- कहाँबाट आएको उ ?
- पश्चिम कपिलवस्तु
म अचम्मै परेँ। अब भने म ठुक्क भए , जसलाई भेट्न रत्नपार्क जादै थिए उ पनि म सवार गाडी मै रहिछ ।
एकमनले सिट पछाडी शिर घुमाएर हेलो भनौ लागिरहेको थियो । तर छिनमै मन परिवर्तन भयो । उनिहरूको कुराकानी चाख मानेर सुन्न मन लाग्यो।
- मान्छे त हिरो नै भेटिछस त , के गर्दै छ? सन्ध्याले राधालाई सोधी ।
अं साच्ची उसको नाम चाहिँ राधा थियो ।, मैले मायाले राधा पियारी भनेर बोलाउने गर्थे ।
- गाउँमा छ अरे घर, खासै केहि गर्दैन पहिले मिडियामा काम गर्थ्यो रे, अहिले केही गर्दैन घरमै बसेको छु भन्थ्यो........। बसले हर्न बजायो आवाज अबरुद्ध भो केहि सुनिन ।
- 'केहि पनि गर्दैन !' सन्ध्याले सोधी।
- ' नाई ' उसको प्रोफाइल हेर न कति राम्रो लेख्छ, राइटर हो । राधाले सन्ध्यालाई मख्ख पार्न खोजि ।
केहि समय मेरो प्रोफाइल खोलेर मेरा स्टाटस र गजलहरू पढ्न थाले उनीहरु ।
काठमाडौं जस्तो ठाउँ जोर बिजोर प्रणालीमा सवारी चल्दा पनि ट्राफिक जाम भैरहेको थियो । त्यतिबेला सम्म हामी कलङ्की पुगिसकेका रहेछौँ ।
खलासी भाईले चिच्याई रहेका थिए - सोल्टीमोड, कालिमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क ।
- पढाई त राम्रै रैछ जस्तो छ । सन्ध्याले सम्भावना व्यक्त गरी।
- खै पढाइको बारेमा त मैले पनि सोधेको छैन न उसले नै । राधाले निराशाजनक प्रतिउत्तर दिई।
- यहि सालमा जन्त जान पाइन्छ त्यसोभए ?
- धत् ' टाइमपास मात्र' हो यार।
राधाको यो उत्तरले मेरो जिउ सिरिङ्ग भयो, एक्कासी गर्मी महसुस् गर्न थाले। मेरो मन नमज्जाले दुख्यो शरिर शिथिल भयो ।
सन्ध्याले थोरै आवेगमा भनि,
- हेरन बौलाहिस फेरि ! कतिओटा पुगे अहिले सम्म ?
- ह्या तं पनि अनि बोल्दैमा हाँस्दैमा र भेट्दैमा सबैलाई बिहे नै गर्नु पर्छ भन्ने छ र? त्यस्तो गाउँको केटासँग अझ बिहे रे, मलाई त्यस्तो देख्छेस् तैले ! मेकअप र खाजामा नै मेरो ५०० भन्दा धेरै खर्च हुन्छ दिनमा, विचरा त्यो बेरोजगारले कसरी पाल्न सक्छ यार भन त । म त पिआर वाला खोज्ने हो बुझिस ।
उसले एकसासमै यति कुरा गरि, जुन मेरो सोच भन्दा निक्कै बाहिरको कुरा थियो । छ महिना देखि उसले मसंग नाटक गरिरहेकी रहिछ भन्ने प्रष्ट भयो ।
मन त यस्तो भएको थियो की उठेर एक झापड लगाइदिउ तर वाध्यताले त्यो हैसियत सम्म जान दिएन ।
मेरो सिटमा संगै बसेकी युवती पनि राधाको कुरा सुनेर म तिर हेरेर मुस्कुराइरहेकी थिई, मैले पनि बाहिर मुस्कान छाडे झैँ गरिदिए ।
खलासी भाईले सोध्यो, त्रिपुरेश्वर कोही छ?
मैले म छु भने ।
लगाएको माक्स खोले सिटबाट उठे र पछाडी सिटमा गुनगुनाइ रहेकी राधालाई बोलाए ।
राधा जी नमस्कार 🙏🏽 म प्रभात, चिन्नु भयो?
गाडी रोकियो, खलासीले त्रिपुरेश्वर उत्रनुस् भन्यो ।
राधालाई मन्द मुस्कान सहित बाइ भने र ओर्लिए रत्नपार्क हिडेको मान्छे त्रिपुरेश्वर ।
त्यहिँबाट कलङ्कीको लागि ट्याक्सी लिए। बाटोमा जादै गर्दा आफन्तलाई फोन गरे र म घर जान लागेको कुरा जानकारी दिए । कलङ्की पुगेर कृष्णनगरको लागि टिकट काटेर बसमा बसे ।
मनमा धेरै कुराहरु खेलिरहे । खल्तीबाट मोबाइल निकाले उसलाई सबै तिरबाट ब्लक गर्ने मन लाग्यो । फेशबुक खोलेर हेरे मैले ब्लक गर्नु पुर्व उसले नै ब्लक गरिसकेकी रहिछ । ट्विटरमा हेरे त्यहाँ पनि ब्लक थिए । इन्स्टाग्राममा र टिकटक पनि ब्लक लिस्टमा परेछन् ।
डाटा अफ गरे र आँखा बन्द गरेर पल्टिए त्यहिँ गाडिकै सिटमा ।
- लेखक न्यौपाने कपिलवस्तु निवासी हुनुहुन्छ ।