आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हर्के बा को सपना

हर्के बा को सपना

नागरिक पाटी

११, फाल्गुण २०७८
  • 5.7K
    SHARES
  • हर्के बा को सपना

    - प्रभात न्यौपाने

    images

    ३ छोरी १ छोरा र बुढा बुढी ६ जनाको परिवार विकट गाउँमा जिन्दगी दुखसुख गुजारिरहेका थिए हर्क बहादुरले । उनको जिन्दगी भारतको न्यू दिल्ली स्थित पानीपद भन्ने स्थानमा अर्दलीको काम गरेर बित्यो। त्यहिँ पहरेदारको कमाइले ३ छोरीको बिहा गरिदिए तर कुनै पनि छोरीको खुट्टाको जल खान भने पाएनन्।

    १४ वर्षको उमेरबाट लाहुर पसेका डांडाघरे हर्के बा ५५ वर्षको उमेरमा स्वास्थ्य अवस्था गम्भीर भएपछि कम्पनीले काम गर्न नसक्ने भन्दै घर फर्कने सल्लाह दिएपछि घर फिर्ती भएका हुन्। छोरालाई इन्जिनियरिङ पढाउन कम्पनीबाट लिएको ८५०० रुपियाँ तिर्न नसक्दा घर फर्कन नपाएको गुनासो गर्थे उनले।

    छोरालाई काठमाडौँमा राखेर ईन्जिनियरिङ् पढाएका हर्के बाले आफ्नो जिन्दगीमा सुख भने कहिल्यैँ पाएनन्। छोरो जन्मदा गाउँभरिका मान्छेलाई डाकेर भोज भतेर खुवाएका थिए उनले। भन्थे " मेरो बुढेसकालको सहारा हो यो। " त्यहिँ भतेर खुवाउँन जिम्बाल बासंग लिएको ७०० रूपियाँ तिर्न नसकेपछि १२ रोपनीमा फैलिएको बारी उनको नाममा गरिदिनु परेको थियो।

    अहिले छोरो काठमाडौँको नाम चलेका ईन्जिनियर भित्रै पर्छ। पढाई सकेर कमाउन थालेको पनि ३ वर्ष भैसकेको छ तर पनि उसले बिहे खर्च छैन भ‌नेपछि आफुसँग भएको एक टुक्रो जग्गा पनि बेचिदिए हर्के बाले। सोचे "मेरो सबथोक यहिँ एउटा छोरो त हो।" अब बाँकी उनीसँग एउटा झुपडी बाहेक केही थिएन।

    विवाह गर्न सरसमान जोड्दै गर्दा उनलाई व्यथाले बेस्सरी च्याप्यो । खोकी लागिरहने र खकारमा रगत देखिन थालेपछि पाल्पाको मिसन अस्पताल लगेकी थिइन् आमैले। छोरो काठमाडौं मै थियो। डेढ महिना मिसन अस्पताल तानसेनमा औषधोपचार गरेपछि घर फर्किए रोग भने पत्ता लगाउन सकेनछन् डाक्टरहरुले। छोराको बिहेका लागि जग्गा बेचेको पैसा 💸 पनि आधा उपचार गराउँदैमा सकियो । कहिलेकाहीँ बिरामी हर्क बहादुर बालाई भेट्न जान्थे म पनि । " खै माइला बाबु बाचुला जस्तो लाग्न छाडिसक्यो, धेरै दिन बाँच्दिन होला छोराले चिठीपत्र, तार केही गरेको छैन तिमीसँग खबर भयो भने बा बिरामी छन् भेट्न आइज भने है " भन्थे । मैले हुलाकी दाइसँग धेरै चिठीपत्र पठाइसकेको थिए तर उताबाट कहिल्यै जवाफ आएन न उ नै आयो।

    मिसन अस्पताल तानसेनबाट फर्किएको ११ औं दिनको एकाबिहानै हर्क बहादुर बा ब्रम्हा भएको खबर ग्रामरक्षक दाइले गाउँभरी सुनाउदै हिडेका रहेछन्। समाजमा भिन्न पहिचान बनाएका हर्क बा यो संसारबाट निकै टाढा गैसकेछन्। आमै पिढीमा बसेर सुक्क सुक्क गर्दै रोइरहेकी थिइन्। आमैलाई सम्झाउन गाउँका ३/४ जना महिला उनी छेउ बसेका थिए। " हुनी हार दैव नटार" भन्छन् आमै दैवले चाहे जे पनि हुने रैछ नरूनुस्, रोएर हर्के बा फर्किने भए हामी पनि तपाइसँगै रून्थ्यौ , छोरो छ जे परे पनि छोराले गरिहाल्छ नी छोरा भएकाको त दिन फिर्छन के आमै। " यस्तै भनेर ढाढस दिइरहेका थिए। मैले हर्के बाको छोरोलाई खबर पठाए । बा खसेको थाहा पाउने वित्तिकै उ काठमाडौँबाट गाडी चढेछ।

    छोराको बिहे गरेर नाती नातिना खेलाउन पाए त मरे पनि स्वर्ग जाने थिए भनेका हर्के बाको सपना अधुरै रह्यो । तेह्रौँ दिनको क्रिया क्रम सकेपछि पन्ध्रौं दिनको दिन बुढी आमालाई त्यहिँ झुपडीमा छाडेर बुढेसकालको सहारा ठानेको छोरो काठमाडौं शहर पस्यो। त्यसपछि उ कहिल्यै गाउँ फर्किएन।

    छोरालाई इन्जिनियरिङ पढाउन कम्पनीबाट लिएको ८५०० रिन तिर्न भारतमै जीवन बिताउने बा, छोराको स्कुल फिस र स्कुले जुत्ता किन्न सकिनसकी मेला ग‌एर १२० रुपियाँ ल्याएर दिने आमा, पुजाआजामा जाँदा आफुलाई खान भनेर दिएको सेलरोटीको टुक्रो आफुले नखाई पटुकीमा बाधेर छोरालाई ल्याइदिने ती बुढी आमाको ममताको रत्तिभर पनि ख्याल राखेन ईन्जिनियर छोराले।

    छोराको बिहेका लागि भएको जग्गा समेत बेचेर डाँडाघरे हर्के बा इश्वरको प्रिय भ‌ए। ती पैसा आधा औषधोपचार र आधा क्रियाक्रममा सकियो। महिनाको ५५ हजार कमाउने छोराले काठमाडौँ फर्कदा गाडीभाडा छैन भनेर गाउँकै एक साहुसँग ६५० रुपियाँ ऋण गरेको आमालाई समेत नसुनाई फर्किएको थियो आफ्नो सपनाको शहरमा ।

    अहिले उसले काठमाडौँमा पाँचतले घर किनेको छ । तल्लो तलामा मेनपावर कम्पनी छ, दोस्रो तला बैंकलाई भाडामा दिएको छ, तेस्रो तलामा विद्यार्थीहरु बस्छन्। चौथो र पाँचौँ तलामा उनीहरू आफैं बसेका छन् । बा को काजक्रिया सकेर ग‌एको ६ महिना नबित्दै आफैसँग काम गर्ने एक युवतीसँग प्रेम विवाह गरेको भन्ने हल्ला चलेको थियो गाउँमा। हाम्रा गाउँका मास्टर साब काठमाडौँ जाँदा उसको बारेमा सबै बुझेर आएका रहेछन्। यी सबै उनैले सुनाएका हुन्। " ए हर्केनी आमै पाँच तले घर किनेको छोरा थिम तिमी अटाइनछ्यौ, बुढेसकालको सहारा भनेर भ‌एको धनसम्पत्ति सबै उसैको पढाइमा सक्यौँ अहिले आफ्नै श्रीमती काखी च्यापेर बसेको छ तिम्रो छोरो" भनेका थिए मास्टर साबले।

    गाउँमा रहेको झुप्रो घर पनि अहिले त बर्खायाममा तपतप पानी चुहिने भएको छ। घर वरिपरि र आगनीमा लामा-लामा झार पलाएका छन्। आँखा देख्न र कान सुन्न छाडीसकिन हर्केनी आमैले। हर्क बा हुँदा तास खेल्न जाने गाउँका बुढापाकाहरू पनि अचेल त्यो घरमा जानै छाडीसके। पहिलेको जस्तो तागत छैन आमैको। भित्र बाहिर गर्न पनि भित्ताको सहारा लिन थालेकी छन्। कुप्री परेर हिड्ने आमैको कपाल सेतै फुलेको छ । पानी लिन पधेरो जाँदा गामका आइमाई केटाकेटीले बोक्सिनी बुढी भनेर हेप्ने गरेको गुनासो सुनाउँछिन् आमैले। अचेल म जाँदा पनि को नानी हौँ भनेर सोध्छिन्, ठम्याउन छाडीसकिन।

    कहिलेकाहीँ छोराको कुरा गरेर भक्कानिन्छिन् आमै "बुढेसकालको सहारा यहिँ त हो भनेर बुढ्यौले भएको सबै सम्पत्ति उसकै लागि सके अहिले छोराले मलाई हेर्न पनि आएको छैन यस्तो सन्तान हुनु भन्दा त नभएकै जाति" भन्छिन्। फेरि कहिलेकाहीँ सिरानी मुनी राखेको छोराको तस्वीर देखाउँदै भन्छिन् " माइला बाबु हाम्रो जेठालाई ल्याई पुर्याउ न म बुढीको आशिष लाग्ने थियो।" सोच्छु आमाको मन न हो छोराछोरीको कुभलो कहिले पो चाहान्थिन र !

    आज म यो विकट गाउँबाट देशको प्रमुख शहरमा बस्ने अर्केनी आमाको, आज म यो विकट गाउँबाट देशको प्रमुख शहरमा बस्ने हर्केनी आमाको छोरालाई पत्र लेखेको छु ए हुलाकी दाई यो चिठी उसैथिम पुर्याइदेउ है ।

    प्रिय साथी
    जिवन मिठो सम्झना

    साथी तिमी धेरै पढेको र शहरमा बस्ने तिमीलाई मैले सम्झाउन र बुझाउन त केहि पर्दैन तिमी नै जान्ने बुझ्ने छौँ। म त मेरो साथीत्वको नाता र तिमीले बेवारिसे अवस्थामा छाडेर ग‌एको तिम्रो आमाको मायाले यो चिठी लेख्न बाध्य भ‌एको छु। साथी जीवन शहरबाट गाउँ नझरेको पनि वर्षौं भ‌एछ तिमीले त आफ्नै आमाको र गाउँको माया मारिसकेछौ। तिमीले छाडेर गए देखुन् तिम्री आमाको आँखा ओभाएका छैनन् खाली तिम्रै कुरा गरेर भक्कानिन्छिन् ।

    गैरि खेतमा पानी लगाउन जाँदा हरेक पटक म तिम्रो आमालाई भेट्न जान्छु म पुग्दा मात्रै पनि आमैलाई ठूलो सहारा भ‌ए जस्तो लाग्छ। ए साथी तिमी कति निर्दयी आफ्नै आमाको हालखबर पनि नबुझ्ने। तिमी त ठूलो शहरमा छौँ मिठो निन्द्रामा सुत्छौ होला तर गाउँकी तिम्री आमै बुढेसकालको सहारा छोरो कहाँ गयो होला भन्दै मसँग विलौना गर्छिन् । गरिब आमाको सम्पनशाली छोरा तिम्रो गाउँको घर 🏠 अबको वर्खा सम्म पनि टिक्दैन भत्किने अवस्थामा छ।

    तिम्री सेतै फुलेकी आमालाई दमले च्याप्न थालेको छ। पधेराबाट एक ग्यालेन पानी लिएर आउँदा १० ठाउँमा बिसाउनु पर्छ अब तिम्रो साथ चाहिएको छ तिम्री आमालाई। शहरमा पैसा र स्वार्थले अझै पुरिएको छैनौँ भने गाउँ आएर आफ्नी आमालाई संगै लिएर जाउ तिम्रो कर्तव्य पुरा गर। मैले यहि भन्न चिठ्ठी कोर्ने दुख गरेको हुँ बाँकी तिम्रो इच्छा रहने छ। यदि तिम्ले यो कुरा सुनेर पनि नसुने झैं गर्यौँ भने गाउँको आमा समुहले प्रहरी सहायता लिने कुरा छ तिमी जतिसक्दो छिटो गाउँ आएर आमाको उपकार गर।

    उहि तिम्रो संगै पढ्ने निउवाखर्के साथी
    प्रभात

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १८:०३:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology