उमेरले पचास वर्ष नाघेपछि मानिसका चाहना र रहरहरु पनि पातलिदै र परिवर्तन हुँदै जाने रहेछन् । आफ्ना बाल्यकाल र युवावस्थामा पूरा हुन नसकेका हजारौं रहरहरु बुढेसकालमा पूरा होऊन् भनेर मनले कल्पना गर्दो रहेछ । हो, कल्पनारुपी संसार नै सबभन्दा फराकिलो र प्रतीक्षारुपी पुल नै सबभन्दा लामो हुने रहेछ ।
मेरो बालापन गरीबीमा र युवावस्था व्यस्ततामा बित्यो । कष्टकर , अस्तव्यस्त र अव्यवस्थित जिन्दगी जिउदा जिउदै उमेरेले पचास नाघ्यो । बितेका ती सारा दुखद दिनहरु स्मृतिपर्दामा फिल्मी दृश्यझै आउँदै जाँदै गरिरहेछन् । विगतलाई सम्झनु नराम्रो काम त होइन, तर विगत सम्झेर पिरोलिनु चाहिँ नराम्रो काम हो ।
आफ्ना यावत् आशा र रहरलाई तिलाञ्जली दिएर अरुको खुशीको निम्ति यन्त्रवत खटिएर इमान्दारी र बफादारी प्रस्तुत गरे पनि भित्री मन भने एकान्तमा रोइरहन्थ्यो । साँच्चै भूपी शेरचनको ए जून शीर्षकको कविताले मेरै व्यथा बोलेजस्तो लाग्छ ।
मभित्रको एउटा मनले भन्छ, समयले तँलाई छलेर गयो । अर्को मनले भन्छ, तँ समय अनुसार चल्न सकेनस् । मैले निर्माण गरेका पुलहरुमुनि कति पानी बगेर गयो, तर मेरो जीवनबाट दुस्ख पीडाको अन्त्य कहिल्यै हुन सकेन ।
विलियम शेक्सपियरले भनेका छन्, पागल, कवि र प्रेमीको कल्पनाशक्ति अत्यधिक तीव्र हुन्छ । यीमध्ये म कुनमा परेंहुँला, आफैँलाई थाहा छैन । मनमा भावनाका छालहरु उर्लिएर आइरहन्छन् । स्मृतिदंशले नीदलाई पनि नआइज भनिरहेको हुन्छ । आँखाले देखेको, व्रह्मले बुझेको र प्रमाणले प्रष्ट्याएका कतिपय कुराहरु कलमले पनि लेख्न सक्दो रहेनछ । शहरको एकान्त कोठामा बसेर र झरेका सपनाका पातहरुमा टेकेर एउटा उदाश जिन्दगी जिइरहेको छु । तर पनि यो मन आशावादी हुनबाट कहिल्यै रोकिएको छैन ।