गजल
अनन्त प्यार झल्किने कथा रहेछ जिन्दगी
अमूर्त भाव टल्किने कला रहेछ जिन्दगी
समस्त दुस्ख बिर्सदा मुहार खुल्छ हर्षले
सहस्र आँसु छल्किने ध्वजा रहेछ जिन्दगी
म बोक्न सक्छु देश यो उठाइ हात कर्मठ
भनेर बैँस ढल्किने सुधा रहेछ जिन्दगी
टुटेर जान्छ स्वप्न त्यो गरीब झुक्न हुन्न है
दुखेर घाउ बल्किने निशा रहेछ जिन्दगी
सहेर चोट मर्मले सजाइ भाव कर्मले
अभावमाझ सल्किने चिता रहेछ जिन्दगी