काठमाडौं । नक्कली शरणार्थी प्रकरणका आरोपितहरू थुनामा पठाउनुपर्ने आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा गरिएको छ । गत मंगलबार बसेको न्यायपरिषद् बैठकले न्यौपानेलाई काठमाडौंबाट रुकुमकोट जिल्ला अदालतमा सरुवा गरेको हो ।
न्यौपानेलाई कानूनमन्त्री धनराज गुरुङको प्रस्तावमा सरुवा गरिएको हो । नक्कली शरणार्थी प्रकरणका आरोपितहरूविरुद्ध मुद्दा दायर भएपछि गोला छान्दा न्यायाधीश न्यौपानेको इजलासमा मुद्दा परेको थियो । न्यौपानेले राजनीतिक दबाबलाई समेत वेवस्ता गर्दै सुनुवाई गरेका थिए ।
न्यौपानेको इजलासले एमाले नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँड, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
न्यौपानेको आदेशविरुद्ध नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु उच्च अदालत, पाटन पुगेका छन्। उच्चमा अभियुक्तहरुले दायर गरेको रिटमाथि विभिन्न कारणले सुनुवाई हुन सकेको छैन । निवेदनहरुले दिएको निवेदनमाथि उच्च अदालतमा आगामी असोज ११ मा सुनुवाई हुँदैछ ।