विष्णु भण्डारी
नारीकाे सपना हुदैन विपना स्वार्थी भए लाेक याे
पेलिन्छन् अपराधले पुरुषका बढ्दै गए भाेक त्याे
दाेषी नै नभए त्यसै पुरुषले थप्दै गए लाञ्छना
धर्ती झैं कसरी महान दिलले खप्दै रहे यातना।१।
भारामा घरमा र खेत बनमा सर्वत्र संसारमा
नारी नै खटिने सदैव किन हाे पर्दै गए मारमा
याैटा बालक हुर्कियाे जतनले पाएर आमा अब
याैटा सुन्दर जीवनी फलिगयाे देवी उनै वास्तव ।२।
खाेज्दैनन् अधिकार आज महिला सारा डुबे आँशुमा
साेच्दैनन् किन निर्दयी पुरुषले छाेरी बुहारी मुमा
सारा सृष्टि चलेर शान्त दुनियाँ कल्ले जगायाे भन
नारी नै नभए बनेन घर त्याे फिक्का बन्याे जीवन।३।
अाशा त्याे बधुकाे बुझेन वरले बन्दैन राम्राे घर
भाषा त्याे मनकाे बुझेन घरले याे जिन्दगी जर्जर
खप्दैछन् कति यातना भुवनमा नारी रुदैछन् कति
नारी मात्र खटेर याे जगतमा हाेला र के उन्नति ।४।
हिंसाले कहिल्यै समाज गतिलाे बन्दैन बुझ्द्याै नर
नारीकाे अपमानले सबकुरा बिग्रेर जाला तर
मायाले दिलले र आत्मबलले नारी उठाैं है अब
हाम्राे लाेक हिमाल झैं अटल हाेस् भन्ने बुझे हुन्न र।५।