फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाल इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ । सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–५ घर भएका इन्स्पेक्टर अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो ।
अनुसन्धान सकेर प्रहरले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो । मुद्दा अदालतमा पेस भएर सुनुवाइको प्रक्रियामा रहेको बताईएको छ ।
उनीसहित मारुती सहकारीका सञ्चालक वसन्त भेटवालविरुद्ध नृपेश श्रेष्ठले आपराधिक विश्वासघात कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा भेटवालसहित निरीक्षक अकौलियालाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।
भेटवाल मारुती सहकारीका अध्यक्ष हुन् । अकौलिया सहकारीका सदस्य हुन् ।
पक्राउ पुर्जी जारी भएको एक वर्षपछि भने मंसिर ४ गते निरीक्षक अकौलिया स्वयम्भु वृत्तमै रहेको खुलेको थियो । मंसिर ५ गते भएको थुनछेक बहसपछि उनी एकलाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणबारे आफूले बुझ्नुपर्ने प्रतिक्रिया दिए । तर, उपत्यका प्रहरी कार्यालय स्रोतले ०८० भदौ २६ गते पक्राउ पुर्जी जारी भएका अकौलियालाई एक वर्षपछि मंसिर ४ मा मात्रै अदालत पेस गराइएको बताएको छ । हाल उनी निलम्बनमा छन् ।
२०८० वैशाख ५ मा नागार्जुन नगरपालिकाले सहकारीलाई विश्वासघात गरेकोबारे अनुसन्धान गर्न पत्र पठाएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।