सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।
यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततः फाइनलका प्रतिस्पर्धी भएका हुन् ।
सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । हिजो भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायो ।
कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो ।