आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

परिस्थिति सामान्य भएपछि ४१ ठाउँबाट फिर्ता भयो सेना

परिस्थिति सामान्य भएपछि ४१ ठाउँबाट फिर्ता भयो सेना

नागरिक पाटी

१, कार्तिक २०८२
  • 2.6K
    SHARES
  • परिस्थिति सामान्य भएपछि ४१ ठाउँबाट फिर्ता भयो सेना

    ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ ठाउँबाट फिर्ता भएको छ । गएकाे भदौ २३ र २४ गतेको प्रदर्शनपछि उत्पन्न परिस्थितिमा काठमाण्डाै उपत्यकाभित्र पाँच र उपत्यकाबाहिर ५७ गरी कुल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।

    images

    सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ वटा ठाउँमा फौज तैनाथ भइरहेको सेनाले जनाएको छ । प्रदर्शनबाट सिर्जित आगजनी, तोडफोड र दङ्गाजस्तो अप्ठ्यारो परिस्थितिमा ६ देखि ८ घण्टाको तैनाथीमा अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाका उपरथी एवम् युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले दाबी गर्नुभयाे ।

    उहाँले भन्नुभयो, ‘अत्यन्त चुनौतीपूर्ण अवस्थामा शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार गर्न सफल भएका छौँ जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको प्रवाहमा तत्कालै सहयोग पुगेको छ ।’

    सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको पहलबाट त्यहाँभित्रका रणनीतिक महत्त्वका कागजातको राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ आगजनीबाट जोगाउन सफल भएको उपरथी थापाले बताउनुभयाे । देशको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’ मा प्राप्त चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति दिइएको सेनाले जनाएको छ ।

    ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका झन्डै २ हजार जना प्रदर्शनकारीलाई रोकी भदौ २५ गतेदेखि नै विमानस्थल पूर्णरूपमा सञ्चालन गरिएको थियो’, महानिर्देशक थापाले भन्नुभयो, ‘विमानस्थलमा फसेका विदेशी पर्यटकको समेत यथोचित सुरक्षा गरिएको थियो । साथै उपत्यकामा रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको थियो ।’

    यसअघि पहिलो चरणमा सिंहदबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सेनाले रोक्न सफल भए पनि ठूलो सङ्ख्यामा थपिएको भीडलाई रोक्न घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यसबाट हुनसक्ने मानवीय क्षति रोक्न विशेष सचेतता अपनाइएको सेनाको प्रष्टीकरण छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - १८:२१:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology