चितवनमा बिहिबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इट्टा लोड गरेर पार्किङ गरी राखिएको ट्रकमा दुई यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो ।
गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाण्डौको लागि छुटेको बस र त्यही बसमा जनकपुरबाट काठमाण्डौको लागि छुटेको अर्को बस समेत ठोक्किएको थियो ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं.१७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।