जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जीउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुन भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौंका ३३ वर्षीय मंगल महर्जनलाई पक्राउ गरेको हो ।
लामालाई ललितपुर महानगरपालिका–३ धोबीघाट र महर्जनलाई काठमाडौं महानगरपालिका–१७ धोबीचौरबाट पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
लामा जगन्नाथदेवल (महिला बन्दीगृह)बाट फरार भएकी थिइन् । २२ वर्ष कैद सजाय फैसला भएकी उनी २०७६ मंसिर १९ गते कारागार चलान भएकी थिइन् ।
एक वर्ष कैद र एक करोड आठ लाख ३९ हजार सात सय ४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भएका महर्जन गत चैतदेखि कैद भुक्तान गरिरहेका थिए । दुवै कैदी कारागार कार्यालय जगन्नाथदेवल चलान भएका छन् । राससबाट