प्रहरीले काभ्रेपलाञ्चोक र बागलुङका विभिन्न स्थानबाट ९ थान भरुवा बन्दुक बरामद गरेको छ । काभ्रेबाट हतियारसहित एक जना पक्राउ परेका छन् भने बागलुङमा बेवारिसे अवस्थामा बन्दुकहरू फेला परेको छ ।काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट एक थान भरुवा बन्दुकसहित ३२ वर्षीय सुजन तामाङ पक्राउ परेका छन् ।
पाँचखाल नगरपालिका–१ घर भई हाल कुन्तावेशी बस्ने तामाङलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हिगुवापाटीबाट खटिएको टोलीले बागमती प्रदेश ०३–००७ प ९२९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट बन्दुक बरामद गरेको थियो ।
यस्तै, बागलुङका तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको छ । गलकोट नगरपालिका–८ जोईपहरास्थित सामुदायिक जंगलबाट तीन थान बन्दुक बरामद भएको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाको टोलीले ती हतियार फेला पारेको हो ।यसैगरी ताराखोला गाउँपालिका–४ नागबेलीस्थित खोलाको किनारबाट पनि चार थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय ताराखोला र गलकोटबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको हो ।