गृह मन्त्रालयले राष्ट्रिय गौरवको प्रतीक नेपालको झण्डाको मर्यादित प्रयोग गर्न आग्रह गर्दै दुरुपयोग गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै झण्डा प्रयोगसम्बन्धी कार्यविधि र कानुनको पालना गर्न सबैलाई अनुरोध गरेका हुन् ।
मन्त्रालयले ’राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ लगायत निर्वाचन आचारसंहिता, २०७२ र मुलुकी अपराध संहिता, २०७४ मा राष्ट्रिय झण्डाको प्रयोगका नियम र निषेधबारे स्पष्ट प्रावधान रहेको जनाएको छ ।
झण्डालाई उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, व्यापारिक प्रयोजनमा प्रयोग गर्ने, शरीरको कम्मरमुनि वा छातीमुनि लगाउने, वा भित्री कपडामा प्रतीक राख्ने जस्ता कार्यहरू पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । यी प्रावधानको उल्लङ्घन गरे कारबाही र सजायको व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।
दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा दश वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाउने नियमसमेत कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।