नेसनल भोलिन्टियर फोर्स, बागमती प्रदेश युनिफाइड कमाण्डले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रमका क्रममा नेकपा एमालेको झण्डा जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै फोर्सले उक्त कार्यलाई "अराजक मानसिकताको उपज" भन्दै कडा भर्त्सना गरेको हो ।
विज्ञप्तिमा लोकतन्त्रमा आफ्ना विचार राख्ने र राजनीतिक गतिविधि गर्ने अधिकार संविधानले सुरक्षित गरे पनि अरूको मानमर्दन गर्ने र चरित्र हत्या गर्ने कार्य स्वीकार्य नहुने उल्लेख गरिएको छ । "दाङमा रास्वपाद्वारा आयोजित कार्यक्रममा एमालेको झण्डा जलाइएको र नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ," बागमती प्रदेश कमाण्डर भुवन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
फोर्सले राजनीतिक असहमतिलाई विचार र बहसबाट व्यक्त गर्नुपर्नेमा जोड दिँदै आगो र अराजकता फैलाउने कार्यले सामाजिक सद्भाव बिगार्ने चेतावनी दिएको छ । यस्ता गतिविधिले राजनीतिक संस्कारलाई समेत ध्वस्त पार्ने फोर्सको ठहर छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, "यदि यस्ता निर्वाचन विथोल्ने र अराजकता फैलाउने कार्यप्रति राज्य मौन रहन्छ भने त्यसले कानुनप्रतिको जनविश्वास कमजोर बनाउनेछ ।" राज्यले तत्काल कदम नचालेमा राष्ट्रिय स्वाभिमान र विधिको शासन रक्षाका लागि आफ्नो संगठन सशक्त प्रतिवादमा उत्रने चेतावनी समेत फोर्सले दिएको छ ।