धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अवैध सालको काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक ट्याक्टरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बेनिघाट रोराङ-७, डुडेस्थित चरौदीबाट स्यादुल जाने भित्री सडक खण्डमा लु ३ त ८०७८ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा ट्याक्टर चालक बेनिघाट रोराङ-५ का २३ वर्षीय सुमन परियार, बेनिघाट रोराङ-७ का ३८ वर्षीय भद्रलाल प्रजा र सोही स्थानका ३६ वर्षीय शिवलाल प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको संयुक्त गस्ती टोलीले विशेष सूचनाका आधारमा ट्याक्टर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा ट्याक्टरमा ७२.५१ स्क्वायर फिट (३३ थान मुढा) अवैध सालको काठ फेला परेपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका तीनै जना र बरामद काठलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङबेसी पठाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।