धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवालाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन्।
पत्रकारसँगको भेटघाटमा उनले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रशासनलाई चुस्त बनाइने बताइन्। धादिङको भौगोलिक संवेदनशीलता, दुई प्रमुख राजमार्ग, सडक दुर्घटना तथा प्राकृतिक प्रकोपका जोखिमलाई ध्यानमा राखेर काम गरिने उनको भनाइ छ।
प्रजिअ पाण्डेले भ्रष्टाचारमुक्त, निष्पक्ष र जिम्मेवार प्रशासन निर्माणका लागि सबै सरोकारवालासँग समन्वय गरिने बताउँदै सञ्चार क्षेत्रसँग पनि सहकार्यको अपेक्षा व्यक्त गरिन्। कार्यक्रममा पत्रकारहरूले शान्ति सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, प्राकृतिक प्रकोप व्यवस्थापन र सेवा प्रवाहका विषयमा ध्यानाकर्षण गराएका थिए।