मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

नागरिक पाटी

८, कार्तिक २०८३
  • 610
    SHARES
  • बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।

    images

    शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउँछन् ।

    माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमी कै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

    लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

    कार्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । आकाशदीपदान पनि सोमबार साँझदेखि नै सुरु गरिँदै छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०८३ आइतवार - ०८:५२:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology