काठमाडौं । महिला लघुवित्तको साधारण सेयर (आईपीओ)मा १५ लाख ८० हजारभन्दा बढिको आवेदन परेको छ । आईपीओ बिक्रीको अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १५ लाख ८० हजार ७ सय ८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १ सय ७० कित्ता सेयरका लागि आवेदन परेको हो ।
कम्पनीले माघ ३० गतेदेखि जारी पुँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड १७ लाख ८० हजार सञ्चित नाफामा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८२ पैसा रहेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ३५ लाख ४० हजार सञ्चित मुनाफा आर्जन गर्दै प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ १६ पुगेको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ४७ लाख ६६ हजार, आर्थिक वर्ष २०७८/०७९ मा २१ करोड १ लाख ३२ हजार र आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४९ लाख ५२ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण लघुवित्तले गरेको छ ।